काठमाडौं । चांगन अटोको नेपाल आएको पहिलो सेडान कार ‘एल्सभीन’को मूल्य सार्वजनिक भएको छ । आधिकारीक वितरक एमएडब्लू वृद्धिले यसको सुरुवाती मूल्य ४२ लाख कायम गरेको हो ।
एल्सभीनको पप-अप शोरुम, सोल्टी क्राउन प्लाजामा राखेर कम्पनीले गाडीको टेष्ट ड्राइभ आयोजना गरेको हो । पप-अप शोरुमको सुरुभएसँगै एमएडब्लूको अध्यक्ष विष्णु अग्रवालले भने, ‘एल्सभीनमा पाइने भविष्य उन्मुख डिजाइन र प्रविधिले, नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्न सक्ने क्षमता राख्छ । हामीले हाम्रा ग्राहकलाई सबैभन्दा राम्रो विक्री अनुभव र विक्रीपछिको सेवा दिन पूर्वाधार निर्माण गरिरहेका छौं ।’
नेपालमा चांगनको कार्यक्रम सुरुभएको अवसरमा चांगन इन्टरनेसनलका उपमहाप्रबन्धक डेङले पनि एक विज्ञप्ति जारीगरी ‘चांगनका अन्तर्राष्ट्रिय स्तरमा पुरस्कार विजेता उत्पादनहरूले नेपाली ग्राहकहरूको महत्वाकांक्षी मूल्यलाई पूरा गर्ने’ बताएका छन् ।
एल्सभीन सेडानबाट ग्राहकले विलासिता, आरामदायी र उत्कृष्ट पावरको मिश्रण पाउने कम्पनीले दावी गरेको छ । यसमा १.४ लिटर क्षमताको ब्लू कोर इन्जिन दिइएको छ । उक्त इन्जिनले ९९ पीएस पावर र १३५ एनएम टर्क प्रदान गर्छ ।
एल्सभीनमा २५३५ एमएमको ह्वीलबेस, १६५ एमएमको ग्राउन्ड क्लियरेन्स, ७ इन्च इन्फोटेनमेन्ट टच स्क्रिन, एड्जस्टेवल स्पोर्टी फ्ल्याट बटम स्टेयरिङ ह्वील जस्ता फिचर प्रदान गरिएको छ ।
यसमा प्रिमियम लेदरेट सीटहरू छन् । साथै, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसले चालक र यात्रुलाई निकै सहजता प्रदान गर्छ ।
एल्सभीनमा प्रयोग भएको सिग्नेचर बटरफ्लाई ग्रिलले सडकमा जो कोहीको सहजै ध्यान खिच्छ । यसमा दिइएको एलइडी डिआरएल सहितको प्रोजेक्टर हेडल्याम्पले रातीको समयमा गाडी चलाउन सहज हुन्छ । यसमा १५ इन्चको अल्लोय ह्वील, शार्क फिन अन्टेना जस्ता फिचर रहेका छन् । यसलाई काठमाडौंको सोल्टी होटलमा गएर जो कोहीले टेष्ट ड्राइभ गर्न सक्ने छन् ।

