दीपलका कार बनाउन चांगानले किन्यो हुन्डाईको प्लाण्ट

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चांगानले चीनको चोङकिङ शहरमा रहेको हुन्डाईको प्लाण्ट खरिद गरेको छ । चांगानले आफ्नो न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलका गाडी उत्पादन गर्न उक्त प्लाण्ट खरिद गरेको जनाएको छ ।

चांगानले सन् २०२५ मा सबै ब्राण्ड मिलाएर ३० लाख कार बिक्री गर्ने लक्ष्य राखेकोमा उत्पादन क्षमता कम भएकाले नयाँ प्लाण्ट खरिद गरेको जनाएको छ । उक्त प्लाण्टमा कम्पनीले दीपल ब्राण्डको लोगो लगाएको छ ।

हुन्डाईले बनाएको उक्त प्लाण्टबाट वार्षिक ३ लाख कार उत्पादन हुनसक्छ । सन् २०२१ को डिसेम्बरबाटै हुन्डाईले उक्त प्लाण्टमा उत्पादन बन्द गरेको थियो । हुन्डाईले चोङकिङ प्लाण्ट सन् २०१५ बाट निर्माण थालेको थियो । बेइजिङ हुन्डाईको यो पाँचौं प्लाण्ट हो ।

करिब १८ लाख ७० हजार वर्गमिटरमा फैलिएको उक्त प्लाण्ट १.१ अर्ब डलरको लागतमा स्थापना भएको थियो ।


Back_to_top