नेपालमा पन्च ईभीको हजार युनिट पूरा, लोभलाग्दा फिचरले ग्राहक थपिँदै

काठमाडौं । टाटा मोटर्सले पन्च ईभी नेपाल ल्याएको १५ महिनामा १ हजार युनिट आयात पूरा गरेको छ । कम्पनीले २०८२ कात्तिक मसान्तसम्मको आयातमा १ हजार २१ युनिट पूरा गरेको हो ।

नाडा अटो शो २०२४ मा नेपाल आएको पन्च ईभीले छोटो समयमा नै राम्रो बिक्री गर्न सफल भएको छ । विशेषगरी, भारतीय ईभीहरूले राम्रो बजार पाउन नसकिरहेको समयमा टाटाका ईभीले बजारमा निकै राम्रो बिक्री पाइरहेका छन् ।

टाटा पन्च ईभी माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध मोडल हो । फिचर लोडेड एसयूभीको रूपमा यसले बजारमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ । साथै, टाटाको बलियो बिक्री नेटवर्क र सर्भिस नेटवर्कको सहयोगले पन्च ईभीको बिक्रीमा ठूलो सहयोग गरेको देखिन्छ ।

भारतमा पनि पन्च निकै सफल मोडल मानिन्छ । भारतीय बजारमा ईभीको तुलनामा पेट्रोलियम पदार्थबाट चल्ने पन्चको बिक्री निकै धेरै छ ।

सिप्रदी ट्रेडिङले अहिले बिक्री गर्दै आएको पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा २७० किलोमिटर आसपास अनरोड रेन्ज दिन्छ ।

भारतीय कार निर्माता कम्पनी टाटाले ‘एक्टी डट ईभी’ प्लेटफर्ममा बनाएको पन्च ईभीमा भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, सनरुफ, वायरलेस चार्जर दिइएको छ । सनरुफसहितको एसयूभीमा ठूलो साइजको इन्फोटेन्टमेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर छ ।

सुरक्षाको हिसाबले पनि पन्च ईभीलाई अब्बल मानिन्छ । यसले ग्लोबल एनक्याप र भारत एनक्याप दुवै क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, ब्लाइण्ड स्पट मोनिटरिङ, चारै चक्कामा डिस्कब्रेक पाउन सकिन्छ ।

टाटाले हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेर बनाएको पन्च ईभी निकै एरोडाइनामिक छ । सिप्रदी ट्रेडिङले लङ रेन्ज (एलआर) पन्च ईभीको इम्पावर्ड भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्ट इम्पावर्ड प्लस एसको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको हो ।

पन्च ईभी पावरको मामलामा पनि निकै राम्रो छ । यसमा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले टर्क भने १९० एनएम प्रदान गर्छ । ग्राउण्ड क्लियरेन्सको हिसाबले पनि पन्च ईभी उत्कृष्ट छ । यसमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाइन्छ ।


Back_to_top