काठमाडौं । पछिल्लो समय नेपाली बजारमा हटकेक बनेको चेरीको इलेक्ट्रीक एसयूभी आइकार भी २३ भारतीय बजारमा प्रवेश गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा चेरी आईकार भी २३ नाममा बिक्री भइरहेको उक्त एसयूभी भारतीय बजारमा एमजी ब्राण्डमा बिक्री हुने भएको हो ।
एमजी मोटर इन्डियाले हाल उक्त एसयूभी भारतको अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) नजिक परीक्षण गर्दै गरेको अवस्थाको तस्बिर बाहिरिएको हो ।
एमजीको जी-वागोन शैलीबाट प्रेरित यो कम्प्याक्ट एसयूभीको परीक्षण सुरू भएसँगै निकट भविष्यमै भारतीय बजारमा प्रवेश गर्ने सम्भावना बलियो बनेको हो । यद्यपि, एमजीले आधिकारिक मिति भने घोषणा गरिसकेको छैन।
परीक्षण भइरहेको उक्त एसयूभी बाक्लो र बाकसजस्तो बनावट, सीधा अगाडिको सिसा तथा समथर बोनटले जी–वागन शैलीबाट प्रेरित डिजाइनको संकेत दिन्छ । जसले सानो आकार हुँदाहुँदै पनि यसलाई वास्तविक अफ रोडर जस्तो मजबुत स्वरूप दिएको छ ।
यसको लम्बाइ करिब ४,२२० एमएम, चौडाइ १,९१५ एमएम र उचाइ १,८४५ एमएम रहेको छ । यसमा २,७३५ एमएमको ह्वील बेस पाउन सकिन्छ ।

यो एसयूभी सानो आकारको भए पनि इन्टेरियरमा प्रशस्त भाग रहने अपेक्षा गरिएको छ। ग्राउण्ड क्लियरेन्स २०० एमएमदेखि २१२ एमएम सम्म रहेको छ। अफरोड क्षमता पनि प्रभावशाली छ, जसमा ४३ डिग्री अप्रोच एंगल र ४०-४१ डिग्री डिपार्चर एंगल छ ।
यो एसयूभीमा १९ इन्च वा २१ इन्च एलोय ह्वील विकल्पमा पाउन सकिन्छ । चेरी आईकार भी २३ को रियर ह्वील ड्राइभ संस्करणले १३६ हर्षपावर दिन्छ भने १८० न्युटन मिटर टर्क जेनेरेट गर्छ ।
त्यस्तै, अल ह्वील ड्राइभ भेरियन्टले २११ हर्षपावर तथा २९२ न्युटन मिटर टर्क दिन्छ। रियर ह्वील ड्राइभ भेरियन्टले ०-१०० किमी/प्रतिघण्टा गति ११ सेकेण्ड र अल ह्वील ड्रइभले ७.५ सेकेण्डमै भेट्टाउँछ । यसको टप स्पीड क्षमता प्रतिघण्टा १४० किलोमिटर छ ।
आइकार भी २३ ती ब्याट्री अप्सनमा पाउन सकिन्छ । यसमा ४७.२८ किलोवाट आवर र ५९.९३ किलोवाट आवरको (एलएफपी) र ८१.७६ किलोवाट आवर (एनएमसी) ब्याट्री प्याक दिइएको छ । जसले ३०१ देखि ५०१ किमीसम्मको रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यसलाई डीसी फास्ट चार्जरबाट ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्छ ।
यो एसयूभीमा प्रिमियम स्तरको क्याबिन छ । जसले आगामी महिन्द्रा थार ईभीसँग प्रतिस्पर्धा गर्न सक्छ। ड्यासबोर्डमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपद्वारा सञ्चालित १५.४ इन्चको २.५ के टचस्क्रीन राखिएको छ । त्यस्तै, सुरक्षाका लागि लेभल २ एडास, एडेप्टिभ क्रुज कन्ट्रोल, ५४० डिग्री पारदर्शी च्यासिस क्यामेरा, स्वचालित पार्किङ तथा भेन्टिलेटेड सिटहरू छन् ।

