काठमाडौं । चेरी अटोमोबाइल ग्रुपले ‘क्यूक्यू-थ्री’ इलेक्ट्रीक ह्याचब्याकको प्रि-सेल्स सुरू गरेको छ । चीनमा १० हजार अमेरिकी डलर (१४ लाख ४५ हजार नेपाली रुपैयाँ) मूल्य तोकेर क्यूक्यू थ्रीको प्रि-सेल्स सुरू भएको हो ।
विभिन्न ४ भेरियन्टमा चीनमा बिक्री गर्ने योजना अनुसार क्यूक्यू थ्री बजारमा ल्याएको हो । दुई ब्याट्री अप्सनमा आएको क्यूक्यू थ्रीको टप भेरियन्टको मूल्य १३ हजार अमेरिकी डलर कायम भएको छ ।
क्यूक्यू चेरीले सन् २००५ देखि उत्पादन थालेको ह्याचब्याक मोडल हो । सन् २००८ ताका नै क्यूक्यू नेपालमा बिक्री भएको थियो । आफ्नो १० लाख युनिटभन्दा बढी उत्पादन भएको ह्याचब्याक मोडल पछि कम्पनीले सन् २०१४ बाट बन्द गरेको थियो ।
अब त्यही उत्पादन बन्द भएको मोडलकै नामबाट इलेक्ट्रीक कार ल्याएको हो । ‘अल न्यू चेरी क्यूक्यू–थ्री’ नाम रहेको ह्याचब्याक कारमा ओभल डिजाइनको हेडलाइट प्रयोग भएको छ । दुई होरिजेन्टल डे टाइम रनिङ लाइट प्रयोग भएको कारको पछाडि पनि ओभल डिजाइनकै टेल लाइट पाउन सकिन्छ ।

क्यूक्यू-थ्री इलेक्ट्रीक मोडलको लम्बाइ ४१९५ एमएम, चौडाइ १८११ एमएम र उचाइ १५६९ एमएम छ । यसमा २७०० एमएम लामो ह्वीलबेस दिएको हो ।
चेरीले आफ्नो पुरानो नेम प्लेटमा ल्याएको मोर्डन ह्याचब्याक कारमा २९.४८ किलोवाट आवर र ४१.२८ किलोवाट आवरको ब्याट्री दिएको छ । जसको सिएलटीसी रेन्ज ३१० र ४२० किलोमिटर बताइएको छ ।
क्यूक्यू थ्री ह्याचब्याकमा ५८ र ९० किलोवाट पीकपावर भएको रियर ह्वील ड्राइभ मोटर उपलब्ध छ । यी मोटरले प्रदान गर्ने टर्क पनि फरक छ । सानो मोटरले ९० न्युटन मिटर र ठूलो मोटरले ११५ न्युटन मिटर रहेको छ ।

यी ब्याट्रीले तीव्र गतिका डीसी चार्जर सपोर्ट गर्छ । ३० देखि ८० प्रतिशत १६.५ मिनेटमै पूरा हुने कम्पनीले जनाएको छ ।
प्रिमियम ह्याचब्याक कारको क्याबिन पनि फिचर लोडेड छ । यसमा १५.६ इन्चको २.५ के फ्लोटिङ स्क्रीन, ओभल डिजाइनमै तयार भएको एसी भेन्ट, एआइमा आधारित भोइस कमाण्ड, क्वालकमको ८१५५ स्न्यापड्रायन चीप प्रयोग भएको छ ।

कम्पनीका अनुसार यसमा ५० वाटको वायरलेस चार्जर, मोबाइल कनेक्टिभिट, फाल्कनको ५०० एड्भान्स ड्राइभिङ एसिस्ट (एडास) दिइएको छ । २५६ कलरमा छनोट गर्न मिल्ने एम्बियन्ट लाइट उपलब्ध कारमा कनेक्ट फिचर पाउन सकिन्छ ।
चेरीको न्यू इनर्जी भेहिकलहरू नेपालमा एसपीजी अटोमोबाइलले बिक्री वितरण गर्दै आएको छ । त्यसैले सानो र बजेट कारको रुपमा आउने क्यूक्यू-थ्री नेपाल पनि आउने अनुमान गर्न सकिन्छ । सम्भवतः सन् २०२६ मै क्यूक्यू थ्री नेपाली बजारमा उपलब्ध हुनेछ ।

