काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए)ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा पठाउने निर्णय गरेको छ ।
मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।
बीबीसीका अनुसार बुधबार आइईएका ३२ सदस्य देशहरूले विश्व बजारमा तेल पठाउने निर्णयको पक्षमा सर्वसम्मत निर्णय गरेका हुन् । आइईएले गरेको यो निर्णय हालसम्मकै सबैभन्दा ठूलो आपतकालीन तेल रिलिज हो ।
आइईए सदस्य देशहरूले रिलिज गर्ने ४० करोड ब्यारेल मध्ये सबैभन्दा धेरै १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ । अमेरिकाको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) बाट तेल निकासी आगामी सातादेखि सुरू हुने र करिब १२० दिनभित्र बजारमा पठाइने अमेरिकाको ऊर्जा विभागले जनाएको छ ।
आइईएले आपतकालीन भण्डारबाट निकालिने तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थितिअनुसार उपयुक्त अवधिमा बजारमा उपलब्ध गराइने जनाएको छ ।
आइईए सदस्य देशहरूले सामूहिक रूपमा लगभग १.८ अर्ब ब्यारेल आपतकालीन भण्डारण गरेका छन् । जुन विश्वव्यापी आपूर्तिमा गम्भीर अवरोधहरूको समयमा प्रयोग गर्न सकिन्छ ।
मध्यपूर्वको तनावको क्रममा इरान र खाडी देशको बीचमा पर्ने समुद्री मार्ग होर्मुज स्ट्रेटमा आक्रमण भएपछि विश्वभर तेल आपूर्ति प्रभावित भएको छ । साथै, तेलको मूल्य अस्वभाविक रुपमा महँगिएको छ ।
आइईएका कार्यकारी निर्देशक फेथ बिरोलले तेल बजारले अहिले असाधारण चुनौतीको सामना गरिरहेको भन्दै यस्तो कदम आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘तेल बजारमा देखिएका चुनौतीहरू अभूतपूर्व छन्, त्यसैले सदस्य देशहरूले यस्तो कदम चाल्नु सकारात्मक कुरा हो ।’

