के चीनको सहयोग बिना अन्य देशले बनाउलान् ईभी ? यस्तो छ अवस्था

काठमाडौं । चीन विद्युतीय सवारीसाधनको उत्पादन र विकासको लागि विश्वको सबैभन्दा छिटो बढ्दो बजार हो । त्यहाँ करिब ५०० ईभी उत्पादक ब्रान्डहरुले अटो बजारमा आफ्नो भिन्न स्थान बनाउँदै आएका छन् ।

केहि दिनअघि मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार सवारी उत्पादन र निर्यातमा अगाडि रहेको जापान, जर्मनी जस्ता देशलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो सवारीसाधन निर्यातकर्ता बनिसकेको छ ।

चाइना एशोसिएशन अफ अटोमोबाइल म्यानुफ्याक्चररका अनुसार यसवर्ष चीनबाट मासिक निर्यात मासिक ३.३ प्रतिशत र वार्षिक १७० प्रतिशतसम्मले वृद्धि भएको छ । यसले सवारीसाधन उत्पादन गर्ने अन्य एशियन, यूरोपियन र अमेरिकी ब्राण्डले निकै ठूलो चुनौती महसुस गरेका छन् ।

अन्य देशको तुलनामा चीनमा ७३ प्रतिशत कोबाल्ट रिफाइन हुने गरेको छ । यससँगै, ७७ प्रतिशत क्याथोड र ९२ प्रतिशत एनोड्स चीनमा नै तयार हुन्छ ।

पछिल्लो समयमा आएर चीनमा ईभी उत्पादन र निर्यातसँगै त्यसका लागि अत्यावश्यक ब्याट्री सस्तो मूल्यमा निर्माण गर्ने होडबाजी पनि सुरु भएको छ । यसैबीच, के विश्वले चीन बिना इलेक्ट्रीक कार र ब्याट्री बनाउन सक्छ त? भन्ने विषयमा अंग्रेजी संचारमाध्यम न्यूयोर्क टाइम्सले एक विस्तृत अनुसन्धान रिपोर्ट सार्वजनिक गरेको छ ।

उक्त संचारमाध्यममा पत्रकारहरूले गरेको अनुसन्धानबाट चिनियाँहरूले विश्वका दुर्लभ मिनेरल उत्खननदेखि दक्ष जनशक्ति उत्पादन गर्न, उनीहरुका लागि आवश्यक तालिमको व्यवस्था गर्नुसाथै, ठूला उद्योग कारखाना निर्माण गर्न धेरै लगानी गरिसकेको निष्कर्ष निकालेका छन् । उनीहरुले विश्वका अन्य जुनसुकै देशले चीनको त्यो रफ्तार भेट्टाउन दशकौं लाग्ने उल्लेख गरेका छन् ।

रिपोर्टरद्वय किथ ब्राडश र एग्नेस चाङले चीनको ईभी उत्पादनको महत्वाकांक्षी श्रृंखला पृथ्वीबाट कच्चापदार्थ निकाल्नेदेखि लिएर लिथियम आयोन ब्याट्रीहरू प्रयोग गर्ने सवारीसाधन निर्माण गर्नका लागि ‘ब्याकअप’ तयार गर्न आवश्यक चुनौती लिने गरेको दावी गरेका छन् ।

यहि तथ्यलाई आधार मानेर हेर्ने हो भने, चीनले ब्याट्रीमा आवश्यक हुने कोबोल्ट, निकेल, लिथियम लगायतको उत्खननसँगै सप्लाई कन्ट्रोलमा विशेष जोड दिने गरेको छ । अझ भनौं ब्याट्री उत्पादनमा कब्जा जमाएको छ भन्दा फरक नपर्ला ! किनकी, पश्चिमा देशहरु कच्चापदार्थसँगै यी सामग्रीहरूको स्रोतको लागि अनुसन्धान गर्दै गर्दा, अस्थिर सरकार र कमजोर श्रम अभ्यास भएका देशहरुमा लगानी गर्न हिचकिचाउने गरेका छन् ।

तर, चीनमा यस्तो कुनै समस्या छैन । पाँच महाद्वीपमा रहेका माइनिङ फर्ममा आफ्नो हिस्सेदारी प्राप्त गर्न देशको राज्य कोषमा भर पर्दै आएको छ । नतिजाको रूपमा, चीन विश्वको ४१ प्रतिशत कोबाल्ट माइनिङ र ईभीको ब्याट्रीमा लाग्ने लिथियममा कन्ट्रोल गर्न सफल भएको छ ।

अन्य देशको तुलनामा चीनमा ७३ प्रतिशत कोबाल्ट रिफाइन हुने गरेको छ । यससँगै, ७७ प्रतिशत क्याथोड र ९२ प्रतिशत एनोड्स चीनमा नै तयार हुन्छ । विद्युतीय सवारीमा चार्ज स्टोर गर्ने ब्याट्री सेल्सको एसेम्बल चीनमा ६६ प्रतिशत हुने गरेको छ भने विश्वको कुल विद्युतीय कार उत्पादनको संख्यामा चीनको हिस्सा ५४ प्रतिशत रहेको छ ।

समग्रमा भन्ने हो भने, अन्य देशका कार निर्माताहरूले दैनिक रुपमा अपरिहार्य बन्ने भनिएको विद्युतीय सवारीको भविष्यको प्रचार गर्न आकर्षक विज्ञापनहरूमा ठूलो खर्च गर्दै आएको देखिन्छ । त्यसको ठिक उल्टो चिनियाँहरूले ब्याट्री अनुसन्धानमा केन्द्रित भएर खर्च गर्दै आएका छन् ।

अहिलेकै अवस्थामा चीन बाहेक कुनै पनि देश ब्याट्री सप्लाई चेन र उत्पादनमा आत्मनिर्भर बन्नै नसक्ने नभएपनि सहज अवस्था देखिदैन । तसर्थ, चीनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग नगरी विद्युतीय सवारीसाधनमा कोही पनि सफल हुन सक्ने अवस्था तत्कालका लागि देखिन्न ।


Back_to_top