कसको गाडीमा कस्तो नम्बर प्लेट, मन्त्रीको गाडीमा कति फरक ?

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीसाधनको पहिचानको लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्दै आएको छ । विभागले नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ भने पुराना सवारीका लागि पनि जडान अनिर्वाय गर्ने तयारी गरिरहेको छ ।

सवारीसाधनको चोरी, राजश्व छली तथा अन्य अपाराधिक क्रियाकलाप रोक्न र सवारीको व्यवस्थापनलाई थप आधुनिक एवं वैज्ञानिक बनाउन इम्बोस्ड नम्बर प्लेट सहयोगी हुने विभागका टेक्नीकल डाइरेक्टर रामचन्द्र पौडेलले बताउँछन् ।

इम्बोस्ड नम्बर प्लेट धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । इम्बोस्ड नम्बर प्लेटमा अंकित हुने सवारीका वर्ग र संकेत छुट्टाछुटै रहेका छन् । विभागले दुई पांग्रे सवारीलाई ‘ए’, कार–जिप र भ्यानलाई ‘बि’, टेम्पो–अटो रिक्साका लागि ‘सी’ संकेत दिएको छ ।

त्यस्तै, पावर टिलरका लागि डी, ट्रयाक्टर र ट्रयाक्टर ट्रेलरका लागि इ, मिनिबस मिनिट्रक मिनी टिप्पर र मिनीडम्परका लागि एफ संकेत दिइएको छ ।

विभागले बस, ट्रक, लरी, टिप्पर, ट्यांकर र ग्याँस बुलेटलाई जी संकेत गरेको छ । साथै, रोलर डोजर, एक्साभेटर, क्रेन दमकल लोडर ग्रेडर ड्रिलरका लागि क्रमशः एच र आइ संकेत दिएको छ । यसबाहेकका अन्य साना तथा मझौला सवारीका लागि जे संकेत दिइएको छ । ठूला सवारीलाई के संकेतले बुझाएको छ ।

कसलाई कुन कलरको नम्बर प्लेट ?

सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा सवारीको नम्बर प्लेटका रहेको व्यवस्था अनुसार साधारण सवारीको नम्बर प्लेटका लागि भिन्न रङ्ग र इम्बोस्डका लागि रङ्ग पनि छुट्याएको छ ।

विभागले सार्वजनिक सवारीसाधनका लागि साधारण नम्बर प्लेटमा कालो प्लेटमा सेतो अक्षर र अङ्क अथवा सेतो प्लेटमा कालो अक्षर र अङ्क राख्नुपर्ने व्यवस्था गरेको थियो । तर, इम्बोस्ड नम्बर प्लेटमा भने पहेलो प्लेटमा कालो अक्षर र अङ्क हुनुपर्ने भएको छ ।

यसअघि हरियो प्लेटमा सेतो अक्षर र अङ्क सहित देखिने गरेका पर्यटक गाडीहरु पनि पर्यटन पनि व्यवसायिक प्रयोजनको हुने भएर इम्बोस्ड नम्बर प्लेटमा पहेलो प्लेटमा कालो अक्षर र अङ्क सहितको हुनुपर्ने व्यवस्था गरिएको छ ।

निजी सवारी साधनमा भने यसअघि रातो प्लेटमा सेतो अक्षर र अङ्कले लेखिएका हुन्थे भने इम्बोस्डमा आउँदा सेतो प्लेटमा कालो अक्षर र अङ्कसहित हुनेछन् ।

यसबाहेक, नेपालको राष्ट्रपति चड्ने गाडीमा नेपाल सरकारको लोगो हुने गरेको छ । त्यस्तै, उपराष्टपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधान सभाका अध्यक्ष तथा उपाध्यक्ष र मन्त्रिपरिषद्का सदस्यहरु चढ्ने सरकारी साधनको नम्बर प्लेटको माथिल्लो आधा भाग र तल्लो आधा भाग क्रमशः रातो र नीलो रंगको पृष्ठभूमिमा सेतो रङ्गको अक्षर र अङ्क हुन्थ्यो । अब इम्बोस्ड नम्बर प्लेटमा सेतो प्लेटमा रातो अक्षर र अङ्क हुनेछ ।

सार्वजनिक संस्थानका सवारीको नम्बर प्लेट यसअघि पहेंलो प्लेटमा निलो अक्षर र अङ्क भएको हुने गरेको थियो । अब भने इम्बोस्डमा आउँदा सेतो प्लेटमा रातो अक्षर र अङ्क भएको हुनेछ ।

त्यस्तै, विभिन्न देशका कुटनीतिक नियोगले प्रयोग गर्दै आएका निलो नम्बर प्लेटमा सेतो अक्षर र अङ्क राखिएका गाडी अब इम्बोस्ड नम्बर प्लेटमा सेतो रङ्गमा निलो अक्षर र अङ्क भएको हुनपर्ने व्यवस्था गरिएको छ ।


Back_to_top