९ महिनामा भारतले किन्यो १९ हजार करोडको लिथियम

काठमाडौं । भारतीय अटोमोवाइल निर्माता कम्पनीहरुले अप्रिल २०२२ देखि जनवरी २०२३ सम्मको ९ महिनामा १८ हजार ७६३ करोड भारतीय रुपैयाँ बराबरको लिथियम र लिथियम आयोन खरिद गरेका छन् ।

भारतीय केही कम्पनीले आफैँ प्रशोधन गरेर ब्याट्री बनाउन थालेका र केही कम्पनीले ब्याट्री एसेम्बलिङ मात्रै गर्ने भएको कारण लिथियम र लिथियम आयोनको आयात गरेका हुन् ।

अहिले भारतमा टाटा, महिन्द्रा, हुन्डाई, सिट्रोन, एमजी जस्ता ब्राण्डले ईभी उत्पादन गर्दै आएका छन् भने दुई पाङ्ग्रेमा दर्जनौं ईभी स्टार्टअप कम्पनीहरु छन् । यी सबैले लिथियम आयोन ब्याट्री आयात गर्दे आएका छन् ।

भारतीय बाणिज्य मन्त्रालयका अनुसार ९ महिनाको अवधिमा लिथियम आयोनको आयातमा झण्डै १९ हजार करोड भारतीय रुपैयाँ खर्च भएको हो । अहिले प्रतिकिलोवाट आवर लिथियम आयोन ब्याट्रीको मूल्य १६० अमेरिकी डलर रहेको छ ।

लिथियम आयातमा ठूलो रकम खर्च गर्नु पर्ने तथ्य यसअघि नै बाहिर आएपछि भारत सरकारले प्रोडक्सन लिङकेज इनिसेटीभ (पीएलआई) स्कीम दिएको थियो । त्यसमा भारतलाई गाडी उत्पादनको केन्द्र बनाउन चाहने धेरै कम्पनी सहभागी भएका छन् ।

अहिलेसम्म हुन्डाई इन्डिया, रिलायन्स लिमिटेड, ओला इलेक्ट्रीक, राजेश एक्सपोर्ट लगायतका अन्य केही कम्पनीले पीएलआई स्कीम सम्झौंता गरिसकेका छन् । यस योजनामा भारत सरकारले १८ हजार करोड रुपैयाँ खर्च गर्दैछ । यो लगानीबाट ९५ गिगावाट ब्याट्री उत्पादन गर्ने लक्ष्य सरकारले बनाएको छ ।

अहिले भारतको जम्बु कास्मिर क्षेत्रमा ५९ लाख टन लिथियम फेला परेको भारतीय जियोलोजीकल सर्भे अफ इन्डियाले जनाएको छ । भारतको राजस्थान, छत्तिसगढ, अरुणचल प्रदेश, नागाल्याण्ड, मेघालय, लद्धाख र गुजरात जस्ता प्रदेशमा लिथियमको सम्भावना देखिएको छ ।


Back_to_top