चीनबाट ईभी निर्यात गर्ने ४ ब्राण्डमा कडा प्रतिस्पर्धा, पहिलो बन्यो चेरी

काठमाडौं । चिनियाँ कार निर्माताहरु बीच ईभी निर्यातमा पनि कडा प्रतिस्पर्धा देखिएको छ । चीनका मुख्य कार निर्माता बीच ईभी निर्यातमा प्रतिस्पर्धा सुरु भएको हो ।

चीनबाट प्योर इलेक्ट्रीक भेहिकल निर्यात गर्नेमा सबैभन्दा अगाडि चेरी ग्रुप देखिएको छ । चेरीले आफ्नो चेरी ब्राण्डसँगै न्यू इनर्जी ब्राण्ड ओमोडा/जेको र आइकारमा उत्पादन भएका गाडी निर्यात गर्दै आएको छ ।

चेरीले सन् २०२५ को जनवरीदेखि मे महिनासम्ममा २ लाख ५० हजार ८०० यनिट प्योर इलेक्ट्रीक कार निर्यात गरेको हो ।

पहिलो ५ महिनामा भएको निर्यातमा दोस्रो स्थान एसएआइसी ग्रुपले लिएको छ । एसएआइसी ग्रुपले एमजी र मेक्ससका गाडी निर्यात गर्दै आएको छ । दोस्रो स्थानमा रहेको एसएआइसी ग्रुपले १ लाख ६८ हजार ७०० युनिट निर्यात गरेको तथ्यांक चिनियाँ भन्सार विभागले प्रकाशित गरेको हो ।

धेरै कार निर्यात गर्ने सूचीमा जिली तेस्रो स्थानमा देखिएको छ । जिली ग्रुपले ५ महिनाको अवधिमा १ लाख ६० हजार ९०० युनिट कार निर्यात गरेको छ । जिली ग्रुपले युरोपमा मात्रै ७० हजार ६०० युनिट कार पठाएको छ । जिलीले प्योर ईभीको निर्यात १०३ प्रतिशतले निर्यात बढाएको हो ।

सूचीको चौथो स्थानमा रहेको बीवाइडीले १ लाख ५९ हजार ३०० युनिट इलेक्ट्रीक कार निर्यात गरेको छ । कम्पनीले निर्यात गरेको हाइब्रिडको हिस्सा यहाँ समाबेस छैन । निकै आक्रमक बजार बिस्तारमा देखिएको बीवाइडीले ईभीको निर्यात राम्रै संख्यामा गरेको देखिन्छ ।

यी चार ब्राण्ड बीचको निर्यातमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । विगत धेरै वर्षदेखि निर्यातमा पहिलो देखिएको चेरीलाई यस वर्ष अन्य ब्राण्डले कडा टक्कर दिन खोजेपनि ईभी निर्यातमा पनि उ अगाडि देखिएको हो ।


Back_to_top