काठमाडौं । चिनियाँ कार उत्पादकको बिक्रीमा उच्च गिरावट देखिएको छ । सन् २०२६ को जनवरीमा झण्डै ३३ प्रतिशतले गिरावट आएको कार बजारमा फेब्रुअरीमा त्योभन्दा धेरै ठूलो गिरावट देखिएको हो ।
फेब्रुअरी महिनामा नयाँ वर्षसँगै लामो छुट्टी भएको र त्यसको असर कार बजारमा परेको बुझ्न सकिन्छ । तर, विगतका वर्षको तुलनामा यसवर्ष ठूलो गिरावट देखिएको हो ।
चीन सरकारले उत्पादनमा आधारित अनुदान र उपभोक्तालाई दिएको अनुदान दुबैमा कटौती गरेसँगै कारको बिक्रीमा उच्च गिरावट आएको चिनियाँ मिडियाहरूले रिपोर्ट प्रकाशित गरेका छन् ।
चिनियाँ कारहरूको बिक्री चीनमै उच्च गिरावट देखिए पनि निर्यातमा भने राम्रै वृद्धि पाएको देखिन्छ । समग्रमा सबै कम्पनीले निर्यातमा १० देखि ४० प्रतिशतसम्मको वृद्धि गरेका छन् ।
विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले फेब्रुअरीमा १ लाख ९० हजार १९० युनिट मात्रै होलसेल बिक्री गरेको छ । बीवाइडीको उक्त बिक्री डेन्जा, याङवाङ लागतका ब्राण्ड जोडेर भएको हो ।
कम्पनीले जनवरी २०२६ मा २ लाख १० हजार ५१ युनिट कार बेचेको थियो । त्यसको तुलनामा पनि केही घटेको हो ।
बीवाइडीसँग प्रतिस्पर्धामा खरो उत्रिरहेको जिलीले फेब्रुअरी २०२५ मा २ लाख ६ हजार १६० युनिट कार बिक्री गरेको छ । कम्पनीको बिक्रीमा जिकर, लिंक एण्ड को र ग्यालेक्सी ब्राण्डको मुख्य भूमिका देखिन्छ ।
त्यसका अलावा चेरी ग्रुप अन्तर्गतका सम्पूर्ण ब्राण्डको मिलाएर १ लाख ६० हजार ७६५ युनिट कार बिक्री भएको छ । चेरीले पनि निर्यातमा राम्रो वृद्धि पाएको देखिन्छ ।
ग्रेटवाल मोटर्सले फेब्रुअरी २०२६ मा ७२ हजार ५९४ युनिट कार बिक्री गरेको तथ्यांक बाहिर आएको छ । स्टार्टअप कम्पनीहरू नियोले २० हजार ७९७, एक्सपेङ १५ हजार २५६, लीपमोटर २८ हजार ६७, ली अटो २६ हजार ४२१ र साओमीले २० हजार कार बिक्री गरेका छन् । सबै कम्पनीको बिक्रीमा ठूलै गिरावट देखिन्छ ।

