काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सोमबार बिहान बजार खुल्ने बित्तिकै एशियामा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयलको मूल्य १० प्रतिशतसम्म बढेको हो ।
यद्यपि, अहिले (साढे १० बजेसम्म) कच्चा तेलको मूल्य औसतमा ६ प्रतिशत बढेर कारोबार भइरहेको छ ।
सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ९ प्रतिशतले बढेर ७९.४० अमेरिकी डलर पुगेको थियो । हाल ७७ डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआइ) क्रुड पनि ५.७८ प्रतिशतले बढेर ७०.९४ डलर पुगेको छ ।
त्यस्तै, मुर्बान क्रुडको भाउ ४.१२ प्रतिशतले बढेर ७८.३६ डलर पुगेको छ । त्यस्तै, अन्य क्रुड आयलहरूको मूल्य पनि औसतमा ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
शनिबार इजरायल र अमेरिकाले इरान माथि आक्रमण गरेका थिए । जवाफमा इरानले पनि खाडी राष्ट्रमा रहेका अमेरिकी सैन्य आधारमा हमला गरेको छ ।
द्वन्द्व चर्किए इरानबाट तेल आपूर्तिमा बाधा पुग्न सक्ने आकलनका कारण कच्चा तेलको मूल्य ह्वात्तै बढेको हो ।
सन् २०२२ फेब्रअरीमा रुस युक्रेन युद्ध सुरू भएसँग कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो । त्यसको केही महिनापछिदेखि घट्न थालेको कच्चा तेलको मूल्य गत डिसेम्बरमा ५७ डलरसम्म झरेको थियो । तर, पछिल्लो २ महिनादेखि फेरि लगातार उकालो लागिरहेको छ ।
विश्व बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपाललाई पनि असर पर्नेछ ।नेपालले हाल भारतबाट पेट्रोलियम पद्धार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको मूल्य बढ्दा भारतमा पनि महँगिने र त्यसको प्रभाव नेपालमा पनि पर्ने गर्छ ।

