काठमाडौं । नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पदार्थको नियमित आइरहेकाले स्टक नराख्न अनुरोध गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुक मार्फत भारतबाट पाइपलाइनमा नियमित रूपमा आयात भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहने जानकारी दिएका हुन् ।
त्यसैले अनावश्यक रूपमा जेरी क्यान र ड्रममा पेट्रोलियम पदार्थ भण्डारण नगर्न उनले आग्रह गरेका छन् । जेरी क्यान र ड्रममा पेट्रोलियम पदार्थ भर्दा आगलागीको जोखिम बढ्ने भएकाले त्यस्तो कार्य निषेध गरिएको उनले स्पष्ट पारेका छन्।
‘पेट्रोलियम पदार्थको आयात पाइपलाइन मार्फत नियमित रुपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारि रहनेछ। तसर्थ, पेट्रोलियम पदार्थको अनावश्यक रुपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाइ मध्यनजर गरि जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको छ। सम्भावित आगजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गरिदिनु हुन समेत सम्पूर्ण उपभोक्ता वर्गमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भनेका छन् ।
इजरायल र अमेरिकाले शनिबार इरान माथि आक्रमण गरेपछि उपभोक्ता आँत्तिदा आइतबार काठमाडौं उपत्यकाका पेट्राल पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको थियो । धेरै जसो पम्पहरूमा राति ९ बजेसम्म पनि लाइन थियो ।
भारतबाट नियमित तेल आइरहे पनि उपभोक्ताले पछि अभाव हुन्छ भनेर केही दिनलाई स्टक राख्ने गरी तेल भरेका छन् ।साथै, निर्वाचन र होलीका कारण पनि इन्धनको माग केही बढेको छ ।

