चितवनमा अटो संवाद : सामूहिक लगानीमा उद्योग खोल्दै, ईभीमा उपभोक्ताको चिन्ता

चितवन । नेपालका मुख्य सहरहरूमा अटोमोबाइल व्यवसायमा संग्लग्न धेरै व्यवसायी भेट्न सकिन्छ । काठमाडौंमा नेपाल अटोमोबाइल डिलर एशोसिएशन (नाडा) नामबाट सवारी साधन र पार्टस् आयात गर्ने व्यवसायी संगठित भएको केही वर्षपछि उपत्यका बाहिर पोखरा र चितवनमा स्थानीय स्तरमा व्यवसाय गर्ने व्यवसायीहरू संगठित भएका थिए ।

पोखरा र चितवन नेपालको भौगोलिक सुन्दरता र पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएका क्षेत्र हुन् । अझ चितवन पूर्व र पश्चिम जोड्ने एक व्यापारिक सहरको रूपमा विकास हुँदै गएकाले यहाँ हुने आर्थिक गतिविधिले अटो क्षेत्रमा निकै ठूलो योगदान पुगेको छ ।

करिब २९ वर्ष पुरानो चितवन अटोमोबाइल्स एशोसिएसनमा अहिले करिब ३५० व्यवसायिक फर्म सदस्य रहेका छन् । सबै किसिमका अटोमोबाइल सम्बद्ध व्यवसाय गर्ने व्यवसायीहरूको संस्था भएकोले यसको नेतृत्व सधैं व्यवसायीहरूको हक र हितको लागि खटिरहेको देख्न सकिन्छ ।

चितवन अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद भण्डारी भन्छन्, ‘हरेक सदस्यको लागि पर्ने समस्या समाधानमा हामी एशोसिएशनको तर्फबाट सामूहिक पहल गर्छौ । अहिलेसम्म १० जना पूर्वअध्यक्ष ज्यूहरू हुनुहुन्छ केही समस्या पर्दा सबै एकजुट हुने अवस्था छ । यसले नेतृत्वलाई काम गर्न पनि निकै सहज भएको छ ।’

गत मंसिर १ गते मात्रै भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उनले आफ्नो कार्यकालमा अटो ल्याण्ड निर्माण र सामूहिक लगानीमा अटो क्षेत्रसम्बद्ध उद्योग संचालन गर्ने योजना बनाएका छन् । उनी भन्छन्, ‘हामीले सरोकारवाला निकायसँग समन्य गरेर अटो ल्याण्डलाई अगाडि बढाएका छौं । स्थानीय सरकारको स्वीकृतसँगै अहिले यसको वातावरणीय प्रभाव मूल्याङ्कको काम भइरहेको छ ।’

चितवन अटोमोबाइलमा आबद्ध व्यवसायीहरूले अटो सहकारी पनि संचालन गरिरहेका छन् । त्यसबाट सामूहिक व्यवसाय संचालन गर्ने योजना एशोसिएशनले बनाएको छ ।

नयाँ उद्योगको योजना बारे जानकारी दिँदै एशोसिएशनका निवर्तमान अध्यक्ष अमृत जोशी भन्छन्, ‘अहिले नै कुनै पनि सदस्यलाई समस्या पर्दा ३५/४० लाख रुपैयाँ ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको छ । त्यसैले हामी सामूहिक लगानीमा मेटल काष्टिङ उद्योग खोल्ने निर्णयमा पुगेका छौं । त्यहाँ विशेष गरेर हाइड्रोको बुस, पेड ड्रम, निर्माण उद्योगको लागि आवश्यक पर्ने स्ल्याबहरू, मोटरसाइकलको लागि आवश्यक पर्ने ‘ब्रेक सु’ जस्ता वस्तु उत्पादन गर्ने योजना बनाएका छौं ।’

सार्वजनिक यातायात सुधार र विद्युतीय सवारी साधनको प्रयोग बढाउन स्थानीय सरकारले नै धेरै तदारुकता देखाउनु पर्ने व्यवसायीहरूको भनाइ छ ।

चितवनमा चल्ने अटो रिक्साले मानिसलाई नै बोकेर केही उकालो उक्लन नसक्ने अवस्था रहेकोले विद्युतीय गाडीको विषयमा चितवन क्षेत्रमा ग्राहकको कन्फीडेन्स आउन नसकेको गुनासो उनीहरूको छ ।

सरकारले पनि विद्युतीय गाडीको प्रयोग बढाउ भनेको छ । विक्रेताले पनि बेच्न चाहेका छन् । तर, उपभोक्तामा गाडीले उकालो तान्दैन कि भन्ने चिन्ता छ । त्यसलाई हटाउन विक्रेताहरूले पनि केही कार्यक्रम चितवन गर्नु पर्ने उनीहरूको बुझाइ छ ।

सार्वजनिक यातायात सुरधारको लागि पनि महानगरपालिकाले विशेष योजना तयार गर्नु पर्ने र त्यही अनुसारको सवारी छनोट गर्नु पर्नेमा व्यवसायीहरूको एकमत पाइन्छ ।


Back_to_top