कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मोडल ल्याउँदै सिट्रोन

काठमाडौं । सिट्रोनले आगामी वर्ष नयाँ मिडसाइज एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले सिट्रोन ‘सीथ्री एयरक्रस’ नामबाट नयाँ एसयूभी ल्याउने चर्चा सुरु भएको हो ।

अहिले नयाँ कम्प्याक्ट एसयूभीको परिक्षण चलिरहेको छ । यसको आधिकारीक विक्री भने सन् २०२४ मात्रै हुने अनुमान गरिएको छ । यसको एक्स्टेरियर डिजाइन सीथ्री ह्याचब्याकसँग मिल्दोजुल्दो देखिन्छ ।

यसमा सीथ्री ह्याचब्याकमा भएजस्तै स्प्लिट हेडल्याम्प, ग्रिल र र्यापराउन्ड टेल–ल्याम्प रहने छ । यसको लम्बाई चार मिटरभन्दा बढी हुनेछ । सिट लेआउट दुई र तीन रो हुनेछ । तयसैले यसलाई ५ र ७ सिट अप्सनमा ल्याउने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी, यसको इन्टेरियरमा निकै सुधार गरिएको छ । यसमा नयाँ लेआउट सहितको ड्यासबोर्ड दिइएको छ । यसको स्टेरिङ ह्वील, स्वीच गियर लगायतका कम्पोनेन्ट भने सीथ्रीको नै समावेश गरिएका छन् ।
नयाँ सीथ्री एयरक्रसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पनि सीथ्रीको प्रयोग हुनेछ । यसमा प्रयोग भएको एचभीएसी कन्ट्रोल र एसी भेन्ट्सको डिजाइन भने साधारण रहेको छ ।

तर, नयाँ सीथ्री एयरक्रसको टप भेरियन्टमा भने अटोमेटिक क्लाइमेट कन्ट्रोल हुने अनुमान गरिएको छ ।

सीथ्री एयरक्रसमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिन सिट्रोन सीथ्री ह्याचब्याकको टप भेरियन्टमा प्रयोग हुने गरेको छ । यसले ११० हर्स पावर प्रदान गर्छ ।

यो एसयूभी भारतमा सार्वजनिक भएपछि हुन्डाईको क्रेटा र सेल्टोसको १.५ लिटर नेचुरल्ली एस्पिरेटेड भेरियन्टसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top