मोटरसाइकलमा धेरै देखिने ६ समस्या, यसरी गर्न सकिन्छ समाधान

काठमाडौं । नेपालमा दुई दर्जनभन्दा बढी कम्पनीले मोटरसाइकल बिक्री गर्दै आएका छन् । विभिन्न ब्राण्डले बिक्री गर्दै आएका फरक–फरक मोटरसाइकलमा पनि केही समस्या समान प्रकृतिका रहेका हुन्छन् ।

यस्ता समान समस्या समाधान गर्न केही आफैँले गर्न सक्ने समाधानका उपाएपनि हुने गर्छन् । त्यसैले आज हामी तपाईलाई मोटरसाइकलमा हुने समान ६ समस्याका विषयमा जानकारी दिने प्रयास गरिरहेका छौं ।

१. मोटरसाइकल स्टार्ट गर्न समस्याः यो समस्या धेरै जसो जाडो महिनामा हुने गर्छ । यो जुन सुकै ब्राण्डको कार्बुरेटर इन्जिन भएका मोटरसाइकलमा देखापर्छ । अहिले नेपालमा गुडीरहेका अधिकांस मोटरसाइकलमा कार्बुरेटर इन्जिन रहेको छ ।

तत्काल स्टार्ट नहुँने समस्या चिसो र कम गुणस्तरको इन्धनको कारण हुने गर्छ । त्यसैले यसबाट बच्न मोटरसाइकलको स्पार्क प्लग सफागर्नु पर्ने हुन्छ । स्पार्क प्लग सफा गरेपछि चोक तानेर मोटरसाइकल स्टार्ट गर्न सकिन्छ । यदि यतिगर्दा पनि तपाईको मोटरसाइकल स्टार्ट नभए सर्भिस सेन्टर नै लानु पर्ने हुन्छ ।

२. थ्रोर्टल रेस्पोन्स कमजोर हुनुः निस्चित किलोमिटर चलाए पस्चात थ्रोर्टल रेस्पोन्समा धेरै चालकले कमजोरि महसुस गर्ने गर्छन् । यो सम्स्या सबै किसिमको मोटरसाइकलमा आउने गर्छ । अवस्थामा तपाईले मोटरसाइकलको एयर फिल्टर, फियुल फिल्टर र स्पार्क प्लग हेर्नुपर्ने हुन्छ ।
यसलाई तपाई आफैँ घरमा सफा गर्न सक्नु हुने छ । यदि यी सबै ठिक अवस्थामा रहेका छन् भने त्यसपछिको समस्या थ्रोर्टल केबल वा क्लच प्लेटमा समस्या आएको हुन सक्छ । तपाई यी कुराको ज्ञान भए आफैँ र नभए सर्भिस सेन्टरमा लगेर चेक गराउनु पर्छ ।

३. इलेक्ट्रीकल समस्याः इलेक्ट्रीकल समस्या सबै किसिमका मोटरसाइकलमा देखिने समस्या हो । यो पार्टसलाई पानी, धुलो, हिलो वा मुसाले पनि खराब गर्न सक्छ ।

इलेक्ट्रीकल समस्या इन्जिन, लाइट, सेल्फ स्टार्ट जस्ता कुरामा देखिने समस्या हो । यदि तपाईलाई इलेक्ट्रीकल विषमा ज्ञान छ भने यस्ता समस्या घरमै समाधान गर्न सक्नु हुन्छ । छैन भने आफ्नो मोटरसाइकललाई वर्कसप वा आधिकारीक सर्भिस सेन्टर लग्नु पर्छ । साथै इलेक्ट्रीकल पार्टसमा व्याट्री पनी पर्ने भएकाले समय समयमा यसको व्याट्री चेक गरिरहनु पर्छ ।

४. ब्रेकिङमा समस्याः सुरक्षाको लागि सबैभन्दा महत्वपूर्ण मानिएको ब्रेकमा आउने समस्या सबै मोटरसाइकलको समान समस्यामा पर्छ । अहिले नेपालमा दुई किसिमको ब्रेक भएका मोटरसाइकल उपलब्ध रहेका छन् । डिस्क र ड्रम ब्रेक । डिस्क ब्रेकलाई हाइड्रोलिक फ्यूलले नियन्त्रण गर्छ भने ड्रम ब्रेकलाई केवुलले नियन्त्रण गर्छ । यस्तोमा ड्रम ब्रेक भएको मोटरसाइकलमा समस्या आए केवल परिक्षण गर्नु पर्छ । साथै ब्रेक प्याडपनि राम्रोसँग हेर्न सकिन्छ ।

यदि डिस्क ब्रेक भएको मोटरसाइकल छ भने यसमा रहेको हाइड्रोलिक फ्यूल चेक गर्ने र ब्रेक प्याड पनि चेक गर्न सकिन्छ ।

५. उच्चगतिमा धेरै भाइब्रेसनः राम्रो बाटोमा पनि स्पीड बढी हुँदा धेरै भाइब्रेसन आउने समस्या धेरै मोटरसाइकलमा हुने समान समस्या हुन् । यो धेरै ठूलो समूया भने होइन । तर, मोटरसाइकलमा उत्पन्न भएको भाइब्रेसन कत्तिको नेचुरल हो भन्ने बुझनु भने पर्छ ।

अधिकांस समयमा मोटरसाइकलका पाटर्स जोड्न प्रयोग भएका नटहरु फुस्केर पनि भाइब्रेसन आउने गर्छ त्यसैले यस्तो समस्या आए सबै पार्टस जोड्न प्रयोग भएका नट्सको निरिक्षण गर्नु पर्छ । यसरी निरिक्षण गर्दा सिट बोल्ट निरिक्षण गर्न नर्विसनु होला ।

कहिले कहि यस्ता समस्या सक एब्जर्वर र सस्पेन्सनमा समस्या आउँदा पनि हुने गर्छ । त्यसैले यस्ता पाटर्सको राम्रोसँग निरिक्षण गर्नु पर्छ ।

६. कम माइलेजः सर्भिस सेन्टरमा अधिकांस समस्या माइलेज नदिएको भनेर आउने गरेको सर्भिस इन्जिनियरहरु बताउँछन् । यो कुनै एक विशेष मोडलमा होइन सबै कम्पनीका मोटरसाइकलमा आउने समान समस्या हो । यो समस्या औषध गतिमा मोटरसाइकल नचलाउँदा, ठिक समयमा गियर परिवर्तन नगर्दा आउने समस्या हुन् । यसबाट पार पाउन तपाईले आफ्नो ड्राइभिङलाई सुधार गर्नु पर्ने हुन्छ ।

समयमा सर्भिसिङ, एयर फिल्टर, आयल फिल्टर, क्लच प्लेटको कारणपनि माइलेज कम हुने गर्छ ।


Back_to_top