नयाँ कारको मूल्य बढेको बढ्यै, निषेधाज्ञा सकिएपछि थप बढ्ने खतरा

काठमाडौं । तीन वर्ष अघिसम्म नेपालमा २० लाखभन्दा कम मूल्यमा डाट्सन रेडी गो, रेनो क्वीड, हुन्डाई इयोन जस्ता मोडल ग्राहकले खरिद गर्न सक्थे । अहिले यी नै कारको मूल्य बढेर सुरुवाती मूल्य नै २४ लाख पुगेको छ ।

कोभिड १९ को संक्रमण बढ्दै गएसँगै रिकन्डिसन बजारमा पनि कारको मूल्य निकै बढेको छ । यसको साथै रिकन्डिसन बजारमा नयाँ गाडी विक्री गर्ने कम्पनीहरुले नै लगानी गर्न थालेकाले अन्य रिकन्डिसन हाउसहरुमा पनि त्यसको दवाव परेकाले गाडीको मूल्य बढ्दै गएको हो ।

हुन्डाईले इयोनको उत्पादन बन्द गरेर सेन्ट्रोको उत्पादन सुरु गरेसँगै हुन्डाईको सस्तो मूल्यको कार नै करिब २४ लाख रुपैयाँभन्दा धेरै पर्ने भएको छ । यसअघि रेडी गो र रेनो क्वीडमा ८०० सीसी क्षमताको इन्जिन रहेको थियो । यी दुबै कम्पनीले अहिले १ हजार सीसी क्षमताका रेडी गो र क्वीडको आयात गरेसँगै यी गाडीको मूल्य पनि २४ लाख नै पुगेको हो ।

अहिले बजारमा मारुती सुजुकी अल्टोको स्टायडर्ड भेरियन्ट मात्रै २० लाखभन्दा कम मूल्यमा किन्न सकिन्छ । अल्टोकै अन्य भेरियन्टको कार किन्न चाहनेले २३ लाखसम्म खर्च गर्नु पर्ने अवस्था रहेको छ । यसले गर्दा थोरै रकममा सानो नयाँ कार किन्ने सोच बनाएका ग्राहकको पहुँच बाहिर कार पुगेको छ ।

नेपाल सरकारले लगाउने कर, सुरक्षा फिचरमा भएको बढोत्तरी र पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको स्टील, प्लाष्टिक लगायतका कच्चा पदार्थको मूल्य वृद्धिको असरले अझै कारहरु महंगो हुँदै गएका छन् । मे महिना सुरु भएसँगै भारतमा अधिकांश उत्पादकले आफ्नो उत्पादन बन्द गरेका छन् भने मूल्य पनि बढाएका छन् । यसको सिधा असर नेपाली बजारमा पनि पर्ने निश्चित रहेको छ । यहि कारण निषेधाज्ञा सकिएपछि नेपालमा पनि कारको मूल्य बढ्ने खतरा देखिएको हो ।

नेपालमा कार महंगो हुनुको मुख्य कारण सरकारले लगाउने कर हो । नेपाल सरकारले सबै किसिमका कारमा ८० प्रतिशत भन्सार, ८० प्रतिशतसम्म अन्तःशुल्क लगाउँदै आएको छ । तर, १००० सीसीसम्मका कारमा भने ८० प्रतिशतसम्म भन्सार, ४० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत मूल्यअभिवृद्धि कर, ७ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदै आएको छ । यसले गाडीको खरिद मूल्यको तुलनामा विक्री मूल्य तेब्बरभन्दा बढी पुग्न गइरहेको छ ।

नेपाल आयात हुने कार ९२ प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेको छ । पछिल्ला ३ वर्षमा भारत सरकारले प्रदुषण मापदण्ड र सुरक्षा मापदण्डमा व्यापक परिमार्जन गरेको कारण गाडीको उत्पादन लागत बढ्न गएको हो । भारत सरकारले लगाएको नयाँ सुरक्षा मापदण्डले कारमा अनिर्वाय एबीएस, इबीडी, दुई एयरव्याग जस्ता फिचर हुनु पर्ने भनेको छ । यसले पनि गाडीको लागत बढ्न गएको हो ।

सन् २०२० अप्रिलबाट अनिर्वाय भएको नयाँ प्रदुषण मापदण्डले कारको मूल्यमा ५ देखि १० प्रतिशतसम्म मूल्य बढाएको छ । बीएस ६ मापदण्डका कार नेपाल आउन थालेसँगै मूल्यपनि बढ्न थालेको हो । नेपालमा सरकारले करमा केहि कमी नगर्ने हो भने सामान्य कारको मूल्य नै ३० लाख पुग्ने अवस्था चाँडै आउने देखिन्छ । नयाँको मूल्य बढेसँगै पुराना कारको मूल्यपनि स्वभाविक रुपमा बढ्ने नै छ ।


Back_to_top