काठमाडौं । झट्ट सुन्दा यूरोपियन नाम भएको ‘क्रसफायर’ मोटरसाइकल नेपालमै बन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, अहिले नेपालमा नै मोटरसाइकल एसेम्बल गर्ने विषय चर्चामा रहेको समयमा विगत लामो समयदेखि एसेम्बल हुँदै आएको ब्राण्डको विषयमा चर्चा गर्नु उपयुक्त देखिन्छ ।
क्रसफायर मोटरसाइकल अष्ट्रेलियन ब्राण्ड हो । यसलाई सन् २०१३ देखि क्लासिक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्ट कम्पनीले नेपालमा एसेम्बल गर्दै आएको छ । विशेषत टुरिङ बाइकको पारखीहरुको बीचमा निकै चर्चित यो मोटरसाइकलले नेपालमा एसेम्बलको ८ वर्ष पुरा गरिसकेको छ ।
अहिले क्रसफायरको एसेम्बल किट चीनबाट आयात हुँदै आएको छ भने सुरुदेखि नै नेपालमा एसेम्बल भइरहेको छ । कम्पनीले २५० सीसी सेग्मेन्टमा विभिन्न एड्भेन्चर मोडलहरुको नेपालमा विक्री गर्दै आएको छ ।
यूवा उद्यमी र राइडरहरु मिलेर चलाइरहेको यो व्यवसाय अहिले सबैले देख्न सक्नेगरी फस्टाई रहेको छ । कम्पनीले नेपालमा पहिलो पटक एक्जेड २५० आरआर मोडल ल्याएको थियो । त्यसयता कम्पनीले क्रसफायर आरएम २५० रेस एडिसन, एचजे २५०, जिआर सेभेन २५० जस्ता मोडल बजारमा ल्याएको छ ।
कम्पनीले विक्री गर्दै आएको सबैभन्दा महंगो मूल्य भएको आरएम २५० को मूल्य ७ लाख २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी एचजे २५० अर्को महंगो मूल्यको मोडल हो । यसको मूल्य ६ लाख ५५ हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको छ ।
त्यसैगरी कम्पनीले जीआर सेभेन २५० लाई ५ लाख ४५ हजार मूल्य तोकेर विक्री गर्दै आएको छ । बजारमा क्रसफायरको पहुँच विस्तार गर्न भन्दै कम्पनीले ३ लाख ४८ हजार मूल्यमा २५० सीसी क्षमताको नयाँ एड्भेन्चर मोडल ‘ट्रेकर २५०’ केही दिनअघि मात्रै सार्वजनिक गरेको छ ।
यस्ताे कम मूल्यकाे नयाँ माेडल ट्रेकर २५०
ट्रेकरमा २४९ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिनमा उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम पावर १८.५ बीएच र टर्क २० न्यूटन मिटर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अगाडि टेलिस्कोपिक र पछाडि मोनो शक सस्पेन्स दिइएको यो मोटरसाइकलमा अगाडि १९ र पछाडि १६ इन्चको रिम ह्वील दिइएको छ । अग्लो टायरको कारण यसलाई निकै एड्भेन्चर देख्न सकिन्छ ।
हेलोजिन हेडल्याम्प र टेलल्याम्प दिइएको मोटरसाइकलमा टर्न इन्डिकेटर भने एलइडी प्रयोग गरिएको छ । दुबै चक्कमा डिस्क ब्रेक उपलब्ध मोटरसाइकलको लम्बाई १९८० एमएम, चौडाई ८२० एमएम र उचाई १२२० एमएम रहेको छ । यसमा २४० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

