काठमाडौं । भन्सार विभागले दिगो ग्रुपले विक्री गर्दै आएको इलेक्ट्रीक भ्यान डाँफेको आयात रोकिदिएको छ । दिगो ग्रुपले ल्याएको ७२ यूनिट डाँफे भ्यान तातोपानी भन्सार कार्यालयले रोकिदिएको हो ।
विशेषतः कुनै व्यापारिक समूहको उजुरीको आधारमा भन्सार कार्यालयले आफ्नो गाडी रोकिदिएको दिगो ग्रुपका प्रबन्ध निर्देशक राजन रायमाझीले बताए । उनका अनुसार कसैले बेनामी निवेदन दिएर गाडी आयातमा अड्चन ल्याएको छ । त्यसको लागि आफू कानुनी सहायताको लागि तयारी गरिरहेको उनको भनाइ छ ।
‘सुरूदेखि नै हामीले डाँफे भ्यान ल्याएर विक्री गरेका हौं । चालकसहित ११ जना लागि बस्ने सिट दिइएको भ्यानमा अहिले ९ सिट मात्रै हो भन्ने बखेडा भन्सारले झिकेको छ । यसमा रहेका दुई फोल्डिङ सिटलाई उनीहरू सिट मान्न तयार देखिएनन् । त्यसको लागि कानुनी सहायता लिनु पर्ने देखियो,’ रायमाझाीले भने ।
दिगोले विक्री गर्दै आएको डाँफे भ्यानमा तीन रो रहेको छ । अन्तिममा जान अगाडिका दुई रोमा रहेका छेउकाे सिट भोल्ड गर्ने किसिमले बनाइएको छ । यसलाई भन्सार कार्यालयले सिट नै मान्दैनौं भन्न थालेको रायमाझीले बताए ।
विगत २ वर्षदेखि विद्युतीय भ्यान विक्री गर्दै आएको दिगोको डाँफे मोडल सिन्धुली–बर्दिवास, काठमाडौं–पोखरा, तराईका विभिन्न छोटा रुटमा सफल हुँदै गएसँगै कम्पनीले यसलाई ठूलो परिमाणमा मगाउन थालेको थियो । गाडीको परिमाण बढेसँगै भन्सार कार्यालयमा उजुरी गरिएको हो ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा धेरै कम संचालन खर्च रहेको डाँफे भ्यान अहिले धेरैको रोजाइमा पर्न थालेको थियो । नेपाल विद्युत प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ नेटवर्क निर्माण गरेको कारण पनि यस्ता साना भ्यानहरू किनेर चलाउन मानिस बढ्दै गएका थिए ।
अहिले भन्सारको दाबी अनुसार यदि यो गाडी ९ सिट क्षमताको मात्रै कायम रहने हो भने रुटमा चल्न पाउने छैन । यातायात व्यवस्था विभागले चालक सहित १० सिटभन्दा कम क्षमताका भ्यानलाई माइक्रोबसको मान्यता दिएको छैन । त्यसैले यी गाडी सार्वजनिक यातायातमा चल्न पाउने छैनन् ।
अर्को अहिले यी गाडीमा १ प्रतिशत मात्रै भन्सार लाग्दै आएको छ । सरकारले विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने भन्दै विद्युतीय बस, माइक्रोबसमा १ प्रतिशत मात्रै भन्सार लगाउँदै आएको छ । यदि यसलाई ९ सिटको मान्ने र निजी प्रयोजनको लागि आएको मान्नने हो भने १० प्रतिशत भन्सार तिर्नुपर्ने हुन्छ ।

