अहिलेसम्मकै धेरै लाइफ भएको ब्याट्रीमा नेपाल आयो ‘दीपल एस-०५’

काठमाडौं । चांगानको न्यू इनर्जी ब्राण्ड दीपलले अहिलेसम्मकै सर्वाधिक चार्जिङ साइकल भएको गोल्डेन शिल्ड ब्याट्रीमा नयाँ क्रसओभर एसयूभी ल्याएको छ । दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पका अनुसार यो ब्याट्रीमा ५ हजार चार्जिङ साइकल पाउन सकिन्छ ।

आगामी भदौ ३ गते सुरू हुने नाडा अटो शो २०२५ मा अनभिल हुने एस-०५ एसयूभीमा नयाँ जेनेरेशनको गोल्डेन शिल्ड ब्याट्री २.० प्रयोग भएको छ । उक्त ब्याट्री टेक्नोलोजी उच्च सुरक्षा, लङ लाइफ र इफिसियन्ट पफर्मेन्समा केन्द्रित रहेको छ ।

नयाँ ब्याट्रीको प्रयोगले दीपल एस-०५ का चालकको कन्फिडेन्स बढ्ने कम्पनीको दाबी छ । दीपल एस-०५ मा प्रयोग भएको गोल्डेन शिल्ड ब्याट्री २.० ले कम डिग्रेसनमै ६ लाख किलोमिटरसम्म अल्ट्रा लङ रेन्ज दिने कम्पनीको दाबी छ ।

गोल्डेन शिल्ड ब्याट्री २.० मा अर्ली वार्निङ मेकानीकल प्रोटेक्सन सहितको हाईस्टेबल ब्याट्रीकोर छ, जसले थर्मल रनवेलाई शून्यमा झार्छ । त्यसैले यसलाई ब्याट्री सेफ्टी अर्ली वार्निङको एकुरेसी ९९ प्रतिशत भन्दा धेरै रहेको मानिन्छ ।

उच्च सुरक्षासँगै उत्कृष्ट पर्फमेन्स प्रदान गर्न सक्ने ब्याट्रीको कारण एस-०५ले बजारमा अलग पहिचान निर्माण गर्ने अनुमान छ । यसमा ५६.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री छ । जसले सिंगल चार्जमा ४७० किलोमिटरसम्म रेन्ज दिने एनइडीले प्रमाणित गरेको छ ।

चार्जिङको मामलामा पनि एस-०५ मा रहेको ब्याट्री अब्बल रहेको कम्पनीको दाबी छ । यसमा थ्रीसी फास्ट चार्जिङ सपोर्ट गर्ने ब्याट्रीप्याक छ । यसलाई केबल १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

एस-०५ मा रहेको ब्याट्रीलाई ७ किलोवाटको एसी चार्जरले सून्यबाट १०० प्रतिशत चार्ज गर्न भने ८ घण्टा लाग्नेछ ।

यदि, तपाईको यात्रा दैनिक ३० किलोमिटर मात्रै छ भने एस-०५ लाई महिनामा दुई पटक मात्र चार्ज गर्दा पुग्ने कम्पनीको दाबी छ ।


Back_to_top