काठमाडौं । एमएडब्लू वृद्धिले थाइल्याण्डमा बनेको दीपल एस-०५ नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाली सडकमा परीक्षण गर्ने केही युनिट डेमो भेहिकल यही महिनाको अन्तिमसम्ममा नेपाल ल्याउने जानकारी दिएको हो ।
‘हामीले विगतदेखि नै नेपालमा ल्याएर कम्तीमा ५ हजार किलोमिटर परीक्षण नगरी गाडी बिक्री गर्दैनौं । त्यसैले यही महिनाको अन्तिमसम्ममा एस-०५ मोडल ल्याएर परीक्षण थाल्ने तयारी गरेका छौं,’ एमएडब्लू वृद्धि स्रोतले भन्यो ।
कम्पनीका अनुसार निकै आकर्षक मूल्यमा आउने कम्प्याक्ट एसयूभी फिचर लोडेड हुनेछ । बजारमा रहेका अन्य एसयूभीको तुलनामा एस-०५ मा फिचरहरूको लामो लिस्ट रहनेछ ।
पहिलो पटक चिनियाँ ब्राण्डले थाइल्याण्डमा उत्पादन गरेको विद्युतीय मोडल नेपाल आउने भएको हो । विगतदेखि नै टोयोटा, निसान, फोर्ड जस्ता ब्राण्डले थाइल्याण्डमा उत्पादन गरेको मोडलहरू नेपाल आएका थिए । विद्युतीय कार मोडल भने पहिलो पटक नेपाल आउन लागेको हो ।
किन बहु प्रतिक्षित छ एस-०५ ?
दीपलका विद्युतीय कार डिजाइनमा निकै उत्कृष्ट छन् । विगतमा नेपाल आएको एस-०७ र एल-०७ दुवै डिजाइनकै कारण धेरै चर्चा र सफलता पाउन सफल मोडल हो । उसोत कम्पनीले ल्याएको ट्रान्सफर्मेशन एसयूभी ई-०७ पनि डिजाइनकै कारण पृथक देखिन्छ ।
दीपल एस-०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । जुन औसत कम्प्याक्ट एसयूभीको लागि पर्फेक्ट मान्न सकिन्छ । यसमा दिइएको २८८० एमएम लामो ह्वीलबेसकै कारण गाडीको कम्फर्टमा कुनै सम्झौता भएको छैन ।
थाइल्याण्डमा यसलाई ७९.९७ र ६५.१ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । सम्भवतः नेपाली बजारमा सुरूमा ५६.१ किलोवाट आवरको ब्याट्री प्याकमा एस-०५ नेपाल आउने छ । सानो ब्याट्री हुनासाथ मूल्य पनि निकै प्रतिस्पर्धी पाउन सकिन्छ ।

रियर ह्वील ड्राइभ मोटरमा आउने एस-०५ मोडल अहिले १७५ किलोवाट पीक पावर भएको मोटर उपलब्ध छ । कम्पनीले नेपाली बजारमा १०० किलोवाटभन्दा कमको मोटरमा ल्याउने सम्भावना रहेको छ । यसको चार्जिङ क्षमता पनि उत्कृष्ट देखिएको छ । १५२ किलोवाट क्षमतासम्मको डीसी चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल १५ मिनेट लागनेछ ।
अर्को बलियो पक्ष यसको भेहिकल टु लोड क्षमता ६.६ किलोवाट छ । जुन नेपाल जस्तो बाटोमा कुनै गाडीलाई रेस्क्यु गर्नु परेको खण्डमा निकै सहज हुनेछ ।
दीपलले यसको क्याबिनलाई प्रिमियम बनाउन कुनै कसर बाँकी राखेको छैन । यसमा प्यानारोमिक ग्लास रुफ, लेदर सिट, लेदर र्याप ड्यासबोर्ड, आठ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, वेलकम सतिहको मेमोरी सिटले ढोका खोल्दै एस–०५ लाई प्रिमियम देखाउने छ ।
भ्यान्टिलेटेड सिट, जिरो ग्राभिटी, थ्री जोन एयर भेन्ट, पीएम २.५ एयर फिटर, हेडअप डिस्प्ले र चालकलाई फलो गर्ने स्क्रीन पाउन सकिन्छ । म्युजिकको लागि १४ वटा स्पिकर उपलब्ध कारमा फुल एडास म्याकेज पाउन सकिन्छ । रिमोट पार्किङ सुविधा र ३६० डिग्री क्यामेराले गाडीको तल्लो भाग पनि देखाउने छ ।
बन्न सक्छ अर्को सफल मोडल
दीपल एस-०७ को सफलतापछि कम्पनीको अर्को सफल मोडल बन्न चाहिने हरेक कुरा यसमा पाउन सकिन्छ । स्लिक फ्रन्ट डिजाइन, स्पोर्टी लुक र प्रविधिको व्यापक प्रयोगका कारण यसले आफ्ना प्रतिस्पर्धीलाई कडा चुनौती दिने देखिन्छ ।
अहिले बजारमा चल्तीका मोडल बीवाइडी एटो-३ देखि प्रोटोन इमास-७ र ओमोडा ई-५ सम्मका मोडललाई यसले सिधा टक्कर दिनेछ । अझ मूल्यका हिसाबले पनि माथि उल्लेख भएका मोडलभन्दा सस्तो हुने अनुमान गरिएको एस-०५ सम्भवत आगामी नाडा अटो शो २०२५ बाट आधिकारिक रूपमै बिक्री सुरू हुनेछ ।

