घट्यो डिजेलको भाउ, हवाई इन्धनको भने बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमले सोमबार बिहानदेखि लागू हुने गरी डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट डिजेलको मूल्य प्रतिलिटर १.४४ रुपैयाँ घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजनसँगै डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४३.५० रुपैयाँ, दोस्रो वर्गमा १४५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ ४२ अमेरिकी डलर मूल्य बढेको छ ।

निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


Back_to_top