रोजाइमा पर्दै डर्ट मोटरसाइकल, यस्ता छन् नेपालमा उपलब्ध ब्राण्ड र मूल्य

काठमाडौं । पछिल्लो समय नेपालमा डर्ट मोटरसाइकलप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । अफ-रोड राइडिङ र एड्भेन्चर टुरिजम कल्चर बढेसँगै डर्ट मोटरसाइकलको प्रयोग र बिक्री बढ्न थालेको हो ।

पहिला सीमित साहसी राइडरको रोजाइमा मात्रै पर्ने यी डर्ट मोटरसाइकलहरू अहिले युवापुस्ता, अफरोड ट्राभल भ्लगर, एड्भेन्चर राइडर र अफरोड क्लबहरूको प्रमुख प्राथमिकतामा पर्न थालेका छन् ।

पहाडी भू-भाग, कच्ची सडक, जंगल ट्रेल र दुर्गम क्षेत्रमा सहज रूपमा यात्रा गर्न सकिने क्षमताका कारण एड्भेन्चर टुर गर्ने राइडरहरूको पहिलो रोजाइमा डर्ट मोटरसाइकल पर्न थालेको हो ।

नेपालमा पनि एड्भेन्चर टुरिजम, ट्रेल राइडिङ, अफरोड रेसिङ र एक्सप्लोरिङ ट्रिप गर्ने राइडरहरूको संख्या बढेसँगै डर्ट मोटरसाइकलको बिक्री पनि बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रका सडक अझै पनि कच्ची नै छन् । यस्ता कठिन भू-भागमा सामान्य कम्युटर, प्रिमियम सेग्मेन्टका मोटरसाइकल प्रयोग गर्न कठिन हुन्छ । त्यसैले अफरोड राइडर पारखीले भने डर्ट मोटरसाइकल नै किन्न रुचाउँछन् ।


डर्ट मोटरसाइकल विशेषगरी अफ-रोड प्रयोगका लागि डिजाइन गरिएको हो । यसमा हाई टर्क जेनेरेट गर्ने इन्जिन, हलुका आल्मुनियम वा स्टिल फ्रेम, अग्लो सिट हाइट, लामो ट्राभल सस्पेन्सन, ठूलो ग्रिप भएको अफरोड टायर, स्लिम सिट र उच्च ग्राउण्ड क्लियरेन्स दिइन्छ । जसले एक्स्ट्रिम अफरोड गर्न मन पराउने राइडरलाई हिलो, धुलो, ढुंगा गिट्टी भएको सडक, उकालो-ओरालो र ट्रेल राइडमा उत्कृष्ट नियन्त्रण र स्थिरता प्रदान गर्छ ।

डर्ट मोटरसाइकलहरू प्रायः कम सीसीका भए पनि यिनीहरूको इन्जिनले जेनेरेट गर्ने टर्क धेरै हुन्छ, जसले ठाडो उकालो चढ्न र अफरोडमा मद्दत गर्छ । डर्ट मोटरसाइकल टाढैबाट हेर्दा स्टाइलिस देखिन्छ भने अफरोड बाटोहरूमा चलाउँदा पनि एकदमै कम्फर्ट हुन्छ ।

नेपालमा उपलब्ध डर्ट मोटरसाइकल

नेपालमा अन्य सेग्मेन्टका धेरै जसो मोटरसाइकलमा भारतीय ब्राण्डको वर्चश्व रहे पनि डर्टमा भने चिनियाँको राज देखिन्छ । हाल नेपालमा मुख्यगरी चिनियाँ ब्राण्ड क्रसफायर, क्रसएक्स, जुमाभका डर्ट बाइक उपलब्ध छन् । यी तीनै ब्राण्डले प्रायः २५० सीसी सेग्मेन्टका डर्ट मोटरसाइकल मात्रै बिक्री गर्दै आएका छन् ।

क्रसफायरका मोटरसाइकल क्लासिक ह्वील्स एक्सपर्ट एण्ड इम्पोर्टले बिक्री गर्दै आइरहेको छ । कम्पनीले बजारमा आरएम, आरएमजेड, जीआर ७, एचजे र ट्रेकर जस्ता मोडलहरूको बिक्री गरिरहेको छ । क्रसफायरका यी मोटरसाइकलहरूको मूल्य ४ लाख १० हजार रुपैयाँबाट सुरू हुन्छ ।

क्रसएक्स ब्राण्डका मोटरसाइकल भने बाइकर्स नेपालले बिक्री गरिरहेको छ । कम्पनीले क्रसएक्स २५० आर, २५० एस, क्रसएक्स एसई र क्रसएक्स २५० आर इएफआई मोडल उपलब्ध गराएको छ । यी मोडलहरू ५ लाख ८० हजार रुपैयाँ मूल्यदेखि किन्न पाइन्छ ।

जुमाभ ब्राण्डको डर्ट मोटरसाइकल भने टर्बो मोटर्सले उपलब्ध गराएको छ । सन् २०२४ देखि नेपाल आएको यो ब्राण्ड छोटो समयमै युवाहरूको रोजाइमा पर्न थालेको छ । कम्पनीले नेपालमा ४ लाख ५० हजार रुपैयाँदेखिका मोडल बिक्री गर्छ । जसमा के ५, के ७ र एस ८ मोडल छन् ।

डर्ट मोटरसाइकललाई कम्फर्ट बनाउने मुख्य कुरा

१. अफ रोडमा सन्तुलन बनाइराख्न सजिलो होस् भनेर यसको फ्रेम हलुका आल्मुनियम वा स्टिलबाट बनाइएको हुन्छ ।

२. हाई ग्राउन्ड क्लियरेन्सले ढुङ्गा, हिलो र खाल्डाखुल्डी भएका निकै अफरोड बाटोमा इन्जिनलाई ठोकिनबाट बचाउँछ ।

३. मोटरसाइकलमा निकै ठुला डर्ट टायरहरू हुन्छन्, जसले बालुवा, हिलो र चिप्लो बाटोमा टायरलाई चिप्लिन नदिई राम्रो ग्रिप बनाइ राख्छ ।

४. मोटरसाइकलमा दिइएको पातलो सिटले राइडरलाई उभिएर चलाउन वा खुट्टाले टेकेर सन्तुलन मिलाउन सजिलो र सहज बनाउँछ ।

५. डर्ट मोटरसाइकलमा धेरै लामो ट्राभल सस्पेन्सन हुन्छ, यसले ठूला ठूला जम्प र खाल्डाको झड्कालाई नियन्त्रण गरि राइडरलाई थकाई लाग्न दिँदैन ।

६. मोटरसाइकलको सिटिङ पोस्चर यसको ह्याण्डलबार माथि र चौडा हुन्छ । जसले गर्दा राइडरले सीधा बसेर वा उभिएर आरामसँग राइड गर्न सक्छन्। यसले ढाड दुख्ने समस्या कम गर्छ ।

७. मोटरसाइकलको एर्गोनोमिक्स डिजाइनले राइडरले आफ्नो शरीरको तौल सजिलै अगाडि पछाडि सार्न सक्छन् । जसले कठिन मोडहरूमा पनि आरामदायी नियन्त्रण प्रदान गर्छ ।


Back_to_top