बन्द भयो नेपालमा सर्वाधिक सफल र सस्तो विद्युतीय कार !

काठमाडौं । नेपाली बाटोमा लामो समयदेखि गुड्दै आएको विद्युतीय कार महिन्द्रा इटुओ बन्द हुने भएको छ । भारतमा सन् २०१९ बाट नै विक्री बन्द भएको सानो ह्याचव्याक इटुओ अब नेपाल पनि नआउने भएको हो ।

महिन्द्राको आधिकारीक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जीले विक्री गर्दै आएको इटुओ धेरै वर्षसम्म नेपाल पाइने सबैभन्दा कम मूल्यको इलेक्ट्रीक कार थियो । पछिल्लो समय पी४ र पी६ दुई भेरियन्टमा विक्री हुँदै आएको इटुओ नेपाल सरकारले करको दर बढाएसँगै नेपाल आउन बन्द भएको थियो ।

‘हामीले नेपाली बजारको लागि बनाइदिन अनुरोध गरेका छौं । तर, कम्पनीले आधिकारीक कुनै जानकारी दिएको छैन’, अग्नी इनर्जीका महाप्रबन्धक प्रमोद भण्डारीले मेरोअटोसँग भने ।

भण्डारीका अनुसार इटुओ आउने अवस्था भएन भने पनि महिन्द्राको इलेक्ट्रीक केयूभी १०० भने भारतीय र नेपाली बजारमा एकै पटक विक्री सुरु गर्ने तयारी भइरहेको छ ।

अहिले कोभिड १९ को संक्रमणका कारण उत्पादनमा समस्या भएको हुनुपर्छ । अब विस्तारै वातावरणमा सुधार हुँदै गएको छ । त्यसैले चाँडै नै केयूभी १०० इलेक्ट्रीक आउनेमा आफुहरु आशावादी रहेको भण्डारी बताउँछन् ।

महिन्द्र इटुओ २१ लाख ६५ हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री हुँदै आएको थियो । घरायसी सामान्य प्लगमा जोडर चार्जगर्न सकिने इटुओको उत्पादन बन्द हुँदा सानो इलेक्ट्रीक कार चाहनेहरुलाई भने निरास बनाएको छ । एक पटकको फुलचार्जमा १३० किलोमिटर गुडाउन सकिने यो कार सहरी क्षेत्रको लागि निकै उपयोगी मानिन्थ्यो ।

महिन्द्राले विद्युतीय गाडीको उत्पादन बढाउन ठूलो रकम खर्च गरिरहेको भएपनि सानो साइजको गाडीको रुपमा इटुओलाई भने सबैले सम्झिरहने छन् ।


Back_to_top