चार महिनामा ईभी आयात हजार यूनिटभन्दा धेरै, कुन क्षमताको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा इलेक्ट्रीक कारको आयात एक हजार १८ यूनिट भएको छ । साउनदेखि कार्तिक मसान्तसम्ममा उक्त परिमाणका इलेक्ट्रीक चार पाङ्ग्रे सवारीसाधन आयात भएको हो ।

सरकारले कम्बस्चन इन्जिन युक्त निजी कार आयातमा प्रतिबन्ध लगाएको समय पारेर ईभीको आयात बढेको सहजै अनुमान लगाउन सकिन्छ । चार महिनाको अवधिमा भारत, चीन, कोरिया र अमेरिकाबाट इलेक्ट्रीक कार आयात भएका छन् ।

चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा धेरै गाडी भारतबाट आयात भएको देखिन्छ । भारतबाट आयात भएको ईभीमा टाटाको मात्रै संख्या रहेको छ । टाटाको नेक्सन ईभी र टिगोर ईभी अहिले नेपालमा सर्वाधिक विक्री भइरहेको मोडल हो ।

यस अवधिमा भारतबाट ६८९ यूनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । भारतबाट आयात भएका सबै ईभीमा १०० किलोवाटभन्दा कम क्षमताका मोटर जडान भएका छन् ।

भारतपछि चीनबाट धेरै आयात देखिन्छ । चीनबाट यस अवधिमा नेटा भी, बीवाइडी, हेनरी लगायतका ब्राण्डका कार आयात भएका छन् । यस अवधिमा १०० किलोवाटभन्दा कम क्षमताका १६२ यूनिट ईभी चीनबाट आयात भएको छ । साथै, १०० देखि २०० किलोवाट क्षमताको ७ यूनिट कार आयात भएको देखिन्छ । यो सेग्मेन्टमा आएको सबै यूनिट बीवाइडीको एटो थ्री हो ।

कोरियाबाट हुन्डाईले गाडी आयात गरिरहेको छ । हुन्डाईले ल्याएको कोना ईभीमा १०० किलोवाटको मोटर रहेको छ । चार महिनाको अवधिमा कोना १३९ यूनिट आयात भएको देखिन्छ । साथै, १०० किलोवाट माथिको मोटर जडान भएको हुन्डाई कै आयोनीक फाइभ १६ यूनिट आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा छ ।

यस अवधिमा अमेरिकी कम्पनी टेस्लाको दुई यूनिट कार नेपाल आएको छ । टेस्लाले नेपाल ल्याएको कारमा २०० किलोवाट माथिको मोटर जडान गरिएको छ ।


Back_to_top