मोटरसाइकल र स्कुटर आयातमा भारी गिरावट, राजश्व ५१ प्रतिशत गुम्यो

काठमाडौं । १५० सीसी माथिका दुई पाङ्ग्रे सवारीसाधको आयातमा लगाइएको प्रतिबन्ध, बजारमा तरलता अभाव र मागमा आएको उच्च गिरावटको कारण मोटरसाइकल आयात ५३.३३ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को चार महिना (साउनदेखि कार्तिक मसान्तसम्म)मा ५८ हजार ८९८ यूनिट मात्रै मोटरसाइकल तथा स्कुटर आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा १ लाख २५ हजार ९०८ यूनिट दुई पाङ्ग्रे सवारीसाधन आयात भएका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्ध लगाएसँगै १५० सीसी माथिका पूर्णरूपमा तयारी मोटरसाइकल ल्याउने बाटो बन्द भयो । त्यसको फाइदा बजाज र टीभीएसले मात्रै पाएको कारण अन्य ब्राण्डले १५० सीसी माथिका मोटरसाइकल नेपाल ल्याउन पाएका छैनन् । यस अवधिमा बजाज र टीभीएसले १९ हजार ७२४ यूनिट अनएसेम्बल मोटरसाइकल तथा स्कुटर नेपाल ल्याएका छन् ।

बजारमा मोटरसाइकलको माग कम हुनु र नयाँ मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको कारण आयातको लागि जाने रकममा पनि ५२ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको ४ महिनामा १२ अर्ब २४ करोड ७९ लाख २ हजार रुपैयाँ बराबर मूल्यको मोटरसाइकल तथा स्कुटर आयात भएको थियो । यस वर्ष भने ५ अर्ब ८७ करोड ७९ लाख २ हजार मूल्य बराबरको मात्रै आयात भएको छ ।

आयात मूल्यमा आएको गिरावटको कारण सरकारले राजश्व पनि ५१.१६ प्रतिशतले गुमाएको छ । चालु आर्थिक वर्षको चार महिनामा ६ अर्ब ५ हरोड ९६ लाख ४६ हजार रुपैयाँ भन्सार विन्दुमा राजश्व संकलन भएको छ । जबकी अघिल्लो वर्षको पहिलो चार महिनामा १२ अर्ब ४० करोड ७३ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

सरकारले लगाएको आयात प्रतिबन्ध र बजार मागमा आएको कमीको कारण अझै बजार सुध्रने अवस्था नरहेको ब्यवसायीहरूको भनाइ छ । अहिले पनि साना सीसीका मोटरसाइकल तथा स्कुटरको स्टक अयातकर्तासँग ठूलो परिमाणमा रहेको बताइन्छ ।

तर, पूर्णरूपमा आयात प्रतिबन्ध लागेका १५० सीसी माथिका मात्रै मोटरसाइकल विक्री गर्ने कम्पनीहरूको भने शोरुम बन्द गर्नु पर्ने अवस्था आएको छ । विशेषगरी रोयल इनफिल्ड, जावा, क्रसफायर, बीएमडब्ल्यू, सीएफ माटो जस्ता ब्राण्डले खर्च कटौती गर्न भन्दै कामदारलाई विदा गर्नेदेखि शोरुम बन्द गर्नेसम्म सुरू गरेका छन् ।

कात्तिक महिनाको मात्रै तथ्यांक हेर्ने हो भने २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात शून्य रहेको छ । २५० सीसी मात्र होइन कार्तिक महिनाको सबै मोटरसाइकलको आयातको आँकडा निकै कमजोर छ ।


Back_to_top