तीन ब्राण्डका इलेक्ट्रीक कार पाइन्छ नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपालमा पनि दुईपांग्रे तथा चारपांग्रे विद्युतीय सवारी भित्रिएको लामै समय भइसक्यो । चारपांग्रे विद्युतीय सवारी सन् २००७ मा महिन्द्राको रेभा आएको थियो ।

महिन्द्रा रेभाले सन् २००१ मा भारतमा विद्युतीय सवारी रेभा सार्वजनिक गरेको हो । त्यसयता नेपालमा ल्याउने प्रयास भए पनि २००७ मा मात्र रेभा नेपाल ल्याउन सफल भएको हो । अहिले रेभा नेपालमा बिक्री वितरण हुँदैन । अहिले नेपालमा बिक्री वितरण भइरहेका इलेक्ट्रीक सवारी साधन निम्न प्रकारका छन् । 

महिन्द्रा इटुओ प्लस

महिन्द्राको इटुओ प्लस नेपालमा २८ लाख रुपैयाँ पर्छ भने यो ३ कलर भेरियन्टमा उपलब्ध रहेको छ । रातो, निलो र सिल्भर कलरमा उपलब्ध यो कार निकै ठुला उकालोमा समेत राम्रोसँग चल्न सक्छ । यो कारमा प्रयोग भएको लिथियम–आयन ब्याट्री ५ देखि ६ घण्टामा फूल चार्ज हुने र फूल चार्ज भएपछि १४० किलोमिटरसम्म चल्ने कम्पनीले जनाएको छ । 

इलेक्ट्रीक कारमा १ लाख किलोमिटर यात्रा गरेका रञ्जन भन्छन्ः ७ गुणा पैसा बचायो (भिडियोसहित)

यसमा एयर ब्याग लगाएतको सेफ्टी फिर्चस छन् भने अधिकतम शक्ति ४१ बिएचपीमा ३५०० आरएमपी र अधितम टर्क ९१ एनएममा २५०० आएमपी उत्पन्न गर्छ  ।

सुविधा सम्पन्न ‘बीवाईडी’ गाडी 

सन् २०१५ मा संसारमा सबैभन्दा बढी विद्युतीय  सवारी साधान बिक्री गर्न सफल चिनियाँ विद्युतीय ब्याट्री गाडी निर्माता कम्पनी बीवाईडीलेको बिक्री गत वर्ष देखि नेपालमा पनि भइरहेको छ ।  सिमेक्स प्रालिले नेपालमा उक्त गाडी बिक्री सुरु गरेको हो । 

कम्पनीले नेपालमा ‘बीवाइडी इ सिक्स’ कार बिक्री गरिरहेको छ । एक पटक चार्ज गरेपछि चार सय किलोमिटर ड्राइभिङ गर्न मिल्ने यो कारको अधिकतम गति प्रतिघण्टा एक सय ४० किलोमिटर रहने छ । याे गडीको मूल्य ६६ लाख रुपैयाँ रहेको छ । भने ३०० किलाेमिटर गुड्नेकाे ५० लाख मूल्य रहेकाे छ । यसमा रहेको इन्जन ८० किलोवाट आइरन फोस्फेट ब्याट्री रहेको छ भने, यसले अधिकतम पावर ९० किलोवाट र टर्क ४५० एनएम उत्पादन गर्छ । अधिकतम गति १४० किलोमिटर प्रतिघन्टा रहने यो कारको ब्याट्री २ घन्टामा फुलचार्ज हुन्छ ।

२४२० केजी तौल रहेको यो कारमा ५ जनाले आरामदायी यात्रा गर्न सक्ने छन् । त्यस्तै प्यासेन्जर बसको रुपमा देशभर चलाउन तथा काठमाडौं उपत्यकामा चलाउनको लागि ‘वीवाइडी के नाइन’ गाडी पनि कम्पनीले ल्याउने भएको छ । सार्वजनिक यातायातमा चलाउन मिल्ने यी सवारी सुविधा सम्पन्न हुने कम्पनीले जनाएको छ ।

किया ‘सोल इभी’

कोरियाली अटो कम्पनी कियाको नेपालको लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विद्युतीय कार ‘सोल इभी’ बिक्री वितरण गर्दै आइरहेको छ । उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली रहेको र एक पटक पूरा चार्जमा १ सय ८० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । 

यो कारमा लिथियम आयान पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । धेरै कुद्ने भए पनि यसको व्याट्री चार्ज गर्न चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घण्टा र कार किन्दा ग्राहकलाई दिइने एसिलो चार्जरबाट मौसम अनुसार १५ देखि १८ घण्टा लाग्ने कम्पनीले जनाएको छ । 

यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ । यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग समावेस छ । दुई वटा संस्करणमा उपलब्ध यो कारको मूल्य क्रमशः ५६ र ५८ लाख रुपैयाँ छ । यो कारमा गियरको झन्झट हुदैन ।

 


Back_to_top