अनौठो इलेक्ट्रीक कार, मूल्य १५ हजार डलर

संसारका कार उत्पादक कम्पनीहरु इलेक्ट्रीक कार निर्माणमा जुटेका छन् । विश्वका लग्जरी कार निर्माता कम्पनीदेखि सामान्य स्टाटअप कम्पनीसम्मले इलेक्ट्रीक कार उत्पादनमा जोड दिइरहेको समयमा विश्व बजारमा नयाँ इलेक्ट्रीक कारले प्रबेश गरेको छ । 

क्यानेडाको इलेक्ट्रा मेकानिका कम्पनीले सन् २०१६ बाट नै आफ्नो अल इलेक्ट्रीक कार ‘शाेलाे’ बिक्री वितरण गरिरहेको छ । एकजनाले मात्रै यात्रा गर्न मिल्नेछ । यसलाई कम्पनीले १५ हजार ५०० डलरमा बिक्री गरिरहेको जनाएको छ । 

सन् २०१८ मा इलेक्ट्रा मेकानिका कम्पनीले चीनको एक कम्पनीसँग सम्झौता गरेर अहिले काम गरिरहेको जनाएको छ । कम्पनीले सन् २०२० सम्ममा ७० हजार यस्ता कार निर्माण गर्ने जनाएको छ । 

हालसम्म करिब २० हजार कार बुकिङ भएको कम्पनीले जनाएको छ । ८२ हर्सपावरको इलेक्ट्रीक मोटर जडान गरिएको कारले १७३ एनएम टर्क जेनेरेट गर्नेछ ।

८.६४ किलोवाटको लिथियम आयन ब्याट्री दिइएको छ, जसलाई फुलचार्ज गर्न ३ घन्टा लाग्ने जनाइएको छ । एक पटकको फुलचार्जमा १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले दाबी गरेको छ । 

यो कार निकै पावरफुल भएको बताईएको छ । जसले ० देखि १०० किमिसम्मको रफ्तार पकड्न मात्र ८ सेकेन्ड लगाउने छ । कारको उच्चगति क्षमता भने १३० किलोमिटर प्रतिघन्टा रहने जनाइएको छ । 

कम्पनीले यसलाई फिचर प्याक बनाउन कुनै कसर बाँकी राखेको छैन । कारमा डिजिटल इस्ट्रुमेन्ट क्लस्टर, रिमोट किलेस इन्ट्री, पावर विंडो, एसी, हिटेड सिट, १६० लिटरका कार्गो स्पेश र रियर भ्यू क्यामेरा दिइएको छ । 

साथै, हेलोजिन हेडल्याम्प, हिटेड मिरर, १५ इन्च अलोय ह्वील, टु स्पीड विन्डसिल वाइपर जस्ता फिचर रहेको छ । 


Back_to_top