यस्तो छ सेकेन्डह्याण्ड इलेक्ट्रीक कार किन्ने तरिका

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक कारहरु चल्न थालेको एक दशकभन्दा बढी भइसकेको छ । लामो समयसम्म महिन्द्राले मात्रै नेपालमा इलेक्ट्रीक कार बिक्री गर्दै आएकोमा अब भने अन्य कम्पनीहरुले पनि इलेक्ट्रीक कार बिक्री गर्न थालेसँगै यसको रिसेलभ्यालुको चर्चा सुरु हुन थालेको हो ।

अहिले नेपालमा हुन्डाई, किया, बिवाइडी र एमजीले इलेक्ट्रीक कार बिक्री गर्दै आएका छन् भने यी बाहेक चिनियाँ ब्राण्डका अन्य इलेक्ट्रीक कारहरु पनि नेपालमा बिक्री सुरु भएका छन् ।

नयाँ डिजायन तथा आधुनिक विशेषताले भरिपूर्ण इभी अहिले बजारमा बिक्री भइरहेका छन् । बजारमा सानो सिटी कारको रुपमा महिन्द्राको इटुओदेखि जर्मन कार कम्पनी अउडीको डेढ करोडभन्दा माथि मूल्य पर्ने इट्रोन इभी पाउन सकिन्छ ।

ग्यासोलिन गाडीमा जस्तो इन्जिनका पाट्सहरु क्षयीकरण नहुने भएकोले पनि इभीलाई सजिलै मूल्याङकन गर्न सकिन्छ । यस्ता कारको प्रमुख पाट्स भनेको व्याट्री र मोटर हो । जम्मा यी दुई मुख्य पाट्सकोे स्तर चेक गरे गाडीको सजिलै मूल्याङकन गर्न सकिन्छ ।

अटो बजारमा हुने नयाँ इनोभेसन र कम्पनीहरुले लामो रेञ्ज तथा एसयूभी डिजाइनमा इलेक्ट्रीक भेहिकल उतारेसँगै लामो समयदेखि इभी चढिरहेका ग्राहकहरुले नयाँ इभीमा अपग्रेड हुने चाहना राख्नु स्वभाविक हो ।

यसरी एउटा तप्का नयाँ डिजाइनको इलेक्ट्रीक कार किन्ने अवस्थामा पुगेसँगै सेकेन्ड ह्याण्ड मार्केटमा इलेक्ट्रीक कार खरिद बिक्री हुन थालेका छन् ।

दोस्रो बजारमा आउने इभीको संख्या ठूलो नभएता पनि यसले भविष्यमा इलेक्ट्रीक गाडीको रिसेलभ्यालु कस्तो हुन्छ भन्ने कुरालाई भने इंगित गर्छ ।

विगत लामो समयदेखि महिन्द्राको इलेक्ट्रीक कारहरु बिक्री गर्दै आएका महिन्द्रा इनर्जीका जनरल म्यानेजर प्रमोद भण्डारी भन्छन् ‘धेरै वर्षदेखि इलेक्ट्रीक चढ्दै आएका सन्तुष्ट ग्राहकले बजारमा आएका नयाँ इभी खोज्ने हुँदा सेकेन्ड ह्याण्ड बजारमा केही इलेक्ट्रीक गाडी आउन थालेका छन् ।’

भण्डारीका अनुसार महिन्द्राका कारहरु पहिलो रेभा कम्पनीको हुँदा देखिकै छन् । जुन अहिलेपनि नेपाली सडकमा राम्रो कन्डिसनमा गुडिरहेका छन् । केही ग्राहकहरुले नयाँ गाडी किन्ने चाहना राखेर महिन्द्राका पुराना इभी बिक्री गर्न चाहेमा आफुहरुले सघाउने गरेको उनको भनाई छ ।

सबै व्यक्तिहरुसँग नयाँ इभी किन्ने बजेट नहुन पनि सक्छ त्यसैले केही कम लगानीमा इभी चड्ने चाहना हुनेहरु पनि हाम्रो सम्पर्कमा आउँछन् । यस्तोमा किन्न चाहने र बिक्री गर्ने दुवै पक्षहरु आफ्नो सम्पर्कमा आउने गरेकाले आफुहरुले दुई पक्षलाई कनेक्ट गराउने गरेको भण्डारीले बताए ।

‘अझ कतिपय ग्राहकहरु आफैँ सहमतिमा पुगेर हाम्रोमा गाडीको कन्डिसन चेक गर्न आउने गरेका छन्’ भण्डारीले भने ।

मूल्याङ्कन गर्न सजिलो

ग्यासोलिन गाडीमा जस्तो इन्जिनका पाट्सहरु क्षयीकरण नहुने भएकोले पनि इभीलाई सजिलै मूल्याङकन गर्न सकिन्छ । यस्ता कारको प्रमुख पाट्स भनेको व्याट्री र मोटर हो । जम्मा यी दुई मुख्य पाट्सकोे स्तर चेक गरे गाडीको सजिलै मूल्याङकन गर्न सकिन्छ ।

गाडीमा भएको व्याट्रीको बाँकी लाइफ र मोटरको अवस्था सर्भिस सेन्टरमा सजिलै मूल्याङकन गर्ने प्रविधि आइसकेकोले पनि सेकेन्ड ह्याण्ड इभी मार्केटमा ठगिने अवस्था रहेको छैन ।

कारको अन्य बढिको कन्डिसन तथा बाहिरी आवरणको मूल्याङकन त जसले पनि नाङ्गो आँखाले ठम्याउन सकिहाल्छ । त्यसैले सेकेन्डह्याण्ड इभी खरिद गर्ने हो भने एक पटक आधिकारीक बिक्रेताको सर्भिस सेन्टरमा देखाएर किनेमा ठगिने अवस्था आउँदैन ।

अन्तर्राष्ट्रिय अभ्यास

नेपालको दोस्रो बजारमा इभीको उपलब्धता उल्लेख्य संख्यामा नभएता पनि विश्वको अन्य मुलुकका दोस्रो बजारम इभीको मनग्य कारोबार हुन थालिसकेको छ ।

विश्व बजारको कारोबार हेर्ने हो भने इभीको मूल्य ग्यासोलीन कारहरुको दाँजोमा निकै कम मात्र घटेको देखिन्छ । वेलायतको कारगुरु डट कमले गरेको सर्वेक्षणको रिपोर्ट अनुसार दुई वर्षको अवधीमा साना इभीको मूल्य घट्नुको साटो १४ प्रतिशतले बढेको थियो । उक्त अवधिमा सोहि साइजको ग्यासोलीन कारहरुको मूल्य भने १३ प्रतिशतले घटेको थियो ।

त्यस्तै इलेक्ट्रीक प्रिमियम सुपर मिनी कारहरुको मूल्य १ प्रतिशतले बढ्दा सोही क्याटागोरिका ग्यासोलिन कारको मूल्यमा १४ प्रतिशतले घटेको थियो । सायद बजारमा धेरै संख्यामा यस्ता गाडीहरुको उपलब्धता नहुने भएकोले र चढिरहेका ग्राहकहरु सन्तुष्ट रहेकोले पनि हुन सक्छ दाेस्राे बजारमा इभी कारहरुको मूल्यमा खासै गिरावट आएको देखिदैन ।


Back_to_top