विद्युतीय गाडी चलाउन कस्तो नीति आवश्यक ? यस्तो छ सरोकारवालाको भनाई

काठमाडौं । नाडा ईभी एक्स्पो २०२२ को अन्तिम दिन काठमाडौंको भृकुटीमण्डपमा भएको ईभी चौतारीमा विद्युतीय सवारीको प्रयोग कसरी बढाउने भन्ने विषयमा छलफल भएको थियो ।

विद्युतीय गाडी त्यसमा पनि सार्वजनिक यातायात कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । ईभी चौतारीमा भएको छलफलमा ब्याट्री र चार्जरको बारेमा छलफल भएको थियो ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल, यातायात व्यवस्था विभागका निर्देशक राम चन्द्र पौडेल, नाडा कार्यसमिति सदस्य यमुना श्रेष्ठ, अटो पत्रकार संघका महासचिव सागर गजुरेल र भुटान सरकारको सडक सुरक्षा र यातायात प्राधिकरणका प्रमुख कार्यक्रम अधिकृत यूगेन नर्बु प्यानलिस्टको रूपमा रहेको गोष्ठीमा ईभीको नीति कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो ।

यूएसएड क्लिन एयरको सहयोगमा भइरहेको ईभी चौतारी कार्यक्रममा सहजकर्ता भुषण तुलाधर रहेका थिए । उनी यूएसआइडी क्लिन एयरका पार्टी प्रमुख समेत हुन् ।

कार्यक्रममा यातायात व्यवस्था विभागका निर्देशक पौडेलले ब्याट्री रिसाइकल गर्न एउटा पोलिसी आवश्यक रहेको बताए । उनले नेपाल भित्र नै रिसाइकल गर्न सकिने भए बाहिर नपठाउने र यहाँ रिसाइकल गर्न नसकिने भए सम्बन्धीत उत्पादक कम्पनीमा पठाउँदा राम्रो हुने धारणा व्यक्त गरे ।

नाडा कार्यसमिति सदस्य यमुना श्रेष्ठले विद्युतीय गाडीको ब्याट्री व्यवस्थापनमा ठूलो चुनौति रहेको बताइन् । उनले आफुले विक्री गर्दै आएको बीवाईडी गाडीको ब्याट्री नेपालमा नै रिसाइकल गर्नेबारे गृहकार्य भइरहेको बताइन् ।

श्रेष्ठले आफ्नो माउ कम्पनीले पनि ब्याट्री प्रयोग बिहिन भएको अवस्थामा फिर्ता लाने बताएको जनाइनन् ।
उनले उपभोक्ताले कुन चार्जर प्रयोग गर्दा राम्रा हुने भन्ने बारेमा पनि सुझाएकी छिन् । उनले चार्जरको मूल्यसहित विष्लेषण गरेर डिसी फास्ट चार्जर लगाउन सुझाव दिएकी छिन् ।

अटो पत्रकार संघका महासचिव सागर गजुरेलले सरकार, स्टेक होल्डर र आम जनताको लगानीमा चार्जिङ्ग स्टेशन निर्माण गर्नुपर्ने सुझाव दिए ।

उनले विद्युत प्राधिकरणले ५० वटा स्टेसन बनाउन ४० करोड खर्चेको सन्दर्भ जोड्दै कुनै एउटा संस्थाले सिमित संख्यामा चार्जिङ स्टेशन बनाउने भन्दा पनि पब्लिक कम्पनी बनाएर जनतालाई पनि सहभागि गराउनु पर्ने धारणा राखे ।

विद्युतीय गाडीमा २ प्रकारको चार्जर मात्र प्रयोग गर्न, गराउन व्यापारी र उपभोक्तालाई आग्रह गर्दै उनले भने, ‘प्रयोग गरिसकेको ब्यट्रीलाई कहाँ र कसरी व्यवस्थित गर्ने भन्ने नीति बन्नु पर्ने बताए ।’

प्राधिकरणका उपकार्यकारी निर्देशक सिलवालले कुनै व्यापार गर्न चार्जिङ स्टेसन निर्माण नगरको स्पष्ट पारे ।

‘प्राधिकरणले कुनै व्यापार गर्न स्टेसन बनाएको होइन, हामिले विद्युतीय सवारी साधनलाई प्रवद्धन गरौँ भन्ने उद्देश्यले स्टेसन निर्माण गरेका हौं’, उनले भने ।

डिजिटल माध्यमबाट गोष्ठीमा सहभागी भएका यूगेन नर्बुले भुटान सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न लिएका नीतिको बारेमा जानकारी दिए ।

भुटान सरकारले विद्युतीय गाडीमा लगाइएका कर, दिइएको छुटको बारेमा विस्तृतरुपमा जानकारी दिए ।


Back_to_top