नेपालमा ईभीले गर्छन दैनिक साढे ५ लाख युनिट बिजुली खपत

काठमाडौं । नेपालमा विद्युतीय विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढेसँगै विद्युत् खपत पनि बढ्न थालेको छ । हाल ईभी चार्ज गर्दा औसतमा दैनिक साढे ५ लाख किलोवाट आवर (युनिट) बिजुली खपत हुन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार हाल विद्युतीय सवारी साधन चार्ज गर्न दैनिक ५ लाख ५० हजार किलोवाट आवर बिजुली खपत भइरहेको छ । यो तथ्यांक डेडिकेटेड चार्जिङ स्टेसनहरूमा भएको विद्युत् खपतको मात्र हो ।

सवारीधनीले आफ्नो घरमा गर्ने चार्जको हिसाब जोड्दा खपत झन् बढ्ने उनले बताए । यद्यपि, घरायसी ग्राहककोबाट ईभी चार्जको लागि कति बिजुली खपत हुन्छ भन्ने छुट्टै तथ्यांक नहुने उनले बताए ।

‘नेपालमा ईभीको प्रयोग बढेसँगै विद्युत् खपत पनि बढ्न थालेको छ । हाल देशभरका चार्जिङ स्टेसनबाट मात्रै दैनिक औसतमा साढे ५ लाख किलोवाट आवर विद्युत् खपत भइरहेको छ,’ उनले मेरोअटोसँग भने । आगामी दिनमा विद्युत् खपत झन् बढ्ने जाने उनको भनाइ छ ।

उनका अनुसार हाल देशभर चार्जिङ स्टेसन (सीसीएसटू र जीबीटी) संख्या १ हजार ५११ वटा पुगेको उनले बताए । हाल नेपालमा विद्युतीय कार, जीप, भ्यान, बस, माइक्रोबस संचालनमा छन् । हाल देशभरका सडकमा ३५ हजार बढी ईभी गुडिरहेका छन् ।

दैनिक पौने ३ करोडको पेट्रोलियम पद्धार्थ बचत

हाल गुडिरहेका ईभीले दैनिक पौने ३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ जोगाएका छन् । ज्ञवालीका अनुसार कार, बस, माइक्रोबसले दिने औसत माइलेजको आधारमा हिसाब गर्दा हाल ईभीले दैनिक १ लाख ६९ हजार लिटर पेट्रोलियम पद्धार्थ खपत प्रतिस्थापन गरेका छन् ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेलको प्रतिलिटर १४० रुपैयाँ छ । यसका आधारमा हिसाब गर्दा ईभीले दैनिक करिब २ करोड ५८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ खपत घटाएका हुन् । वार्षिक रुपमा झण्डै साढे ९ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ खपत प्रतिस्थापन गरेका हुन् ।

१५११ पुग्यो चार्जिङ स्टेसन

हाल देशभर चार्जिङ स्टेसनको संख्या १ हजार ५०० नाघेको छ । ज्ञवालीका अनुसार २०८२ असार ३२ गतेसम्म निर्माण सम्पन्न भएको चार्जिङ स्टेसनको संख्या १ हजार ५११ वटा पुगेको हो । त्यस्तै, १०० बढी चार्जिङ स्टेसन निर्माणको क्रममा रहको उनले बताए ।

गत आर्थिक वर्ष २०८१८२ मात्रै थप ३११ वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न भएको उनले बताए । आव २०८१/८२ सम्म देशभर चार्जिङ स्टेसनको संख्या १ हजार २०० रहेकोमा गत असार मसान्तसम्म १ हजार ५११ पुगेको उनले बताए ।


Back_to_top