काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले ईभी एक्स्पो २०२२ सम्पन्न गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पोमा करिब ३० हजार अवलोकनकर्ताले ईभी एक्स्पो घुमेको आयोजकले जनाएको छ ।
एक्स्पो समापन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले भने, ‘हामीले सोचेभन्दा धेरै अवलोकनकर्ता आउनुभयो । नेपाल अब ईभीको युगमा प्रबेश गर्यो, हामी विद्युतीय साधन प्रयोग गर्न हिच्किचाउन छाड्यौं ।’
अध्यक्ष थापाको भनाईलाई मात्रै आधार मान्ने हो भने पनि विद्युतीय युगको सुरुवात भएको सहजै अनुमान लगाउन सकिन्छ । विश्व बजारमा नै पछिल्ला तीन वर्षमा ईभीको प्रयोग तीन गुणाले वृद्धि भएको छ । यसको मतलव क्लीन इनर्जीमा विश्वका सबै सरकार लागि परेका छन् ।
ईभी एक्स्पो २०२२ ले दिएको सन्देशलाई यसरी ब्याख्या गर्न सकिन्छ ।
१. बढ्दो जनचासोः नेपालले क्लीन इनर्जी उत्पादनमा राम्रो लगानी गर्दै आएको छ । जलविद्युतदेखि हाइड्रोजन फ्यूल उत्पादनमा नेपालले धेरै काम गर्न सक्ने देखिन्छ । ईभी एक्स्पोमो साइडलाइनमा आयोजना गरिएको ईभी चौतारीमा पनि धेरै मानिसको चाहना क्लीन इनर्जीको प्रयोगमा प्रस्ट देखिन्थ्यो ।
नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणदेखि धेरै निकायले विद्युतीय साधन प्रयोगमा जोड दिनुको मुख्य कारण नेपालको उर्जा खपत बढाउनु रहेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार रातीको समयमा खेरजाने विजुलीको सदुपयोगको लागि विद्युतीय गाडी सबैभन्दा उत्तम विकल्प रहेको बताउँछन् ।
२. पूर्वाधारमा चासोः विद्युतीय सार्वजनिक सवारीसाधनको लागि ठूला चार्जिङ नेटवर्क बनाउनु पर्ने हुन्छ । तर, कारको लागि भने घरमा गरिने चार्ज नै काफी हुन्छ । नेपालले निजी कारमा विद्युतीकरण तिव्र गतिमा सुरु गरिसकेको छ भने सार्वजनिक यातायातमा पहिलो पाइला अगाडि बढाएको छ ।
यस्तोमा ठूला चार्जिङ पूर्वाधार निर्माण गर्ने विषयमा कसरी काम गर्न सकिन्छ भनेर सबै सरोकारवालाले सोच्न थालेका छन् । यसले निकट भविष्यमा नै विद्युतीय साधनको प्रयोगलाई व्यापक बनाउने छ । नेपाल सरकारले सन् २०४५ सम्ममा नेपाल सून्य कार्वन उत्सर्जन गर्ने देशको सूचीमा लग्ने प्रतिवद्धता गरेको छ । यसले पनि यातायातलाई विद्युतीकरण गर्न सहयोग गर्छ ।
३. ईभीमैत्री नीतिः सरकारले स्थीर नीति निर्माण गर्ने हो भने नेपालमा विद्युतीय साधन उत्पादन गर्न सकिने व्यवसायीको भनाई छ । सरकार त्यसमा लागि वातावरण बनाउन तल्लीन रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
व्यवसायीहरुको अनुसार स्थीर नीति नियम, लगानीमैत्री वातावरण र ईभी संचालन कार्यविधि निर्माण गर्न सक्ने हो भने नेपालमा विद्युतीय साधनको उपभोग बढ्ने छ ।


