सन् २०२४ मा ईभीको बिक्री बढ्न सक्ने ७ कारण

काठमाडौं । सन् २०२२ देखि नै नेपालमा ईभीको बिक्री बढ्न थालेको हो । त्यो वर्ष एकै पटक ११५ प्रतिशतले बिक्री बढेको थियो । सन् २०२२ मा ईभीको बिक्री बढ्नुको मुख्य कारण टाटा नेक्सन ईभी प्रति ग्राहकले देखाएको चासो मुख्य कारण थियो ।

त्यसैगरी, सन् २०२३ मा बजारमा थुप्रै नयाँ उत्पादन आए । बीवाइडी एटो-३, बीवाइडी डल्फीन, एमजी जेडएस फेसलिफ्ट, एमजी फोर, कोमेट, सेरेस, ईभी–६, नेटा भी, टाटा टियगो ईभी, सिट्रोन इसीथ्री जस्ता उत्पादन बजारमा थपिए । फिचरले भरिपूर्ण र मूल्यमा आकर्षक भएसँगै ईभीको बिक्री तिब्र बनेको हो ।

अर्को कुरा बैंक तथा वित्तिय संस्थाले सहजै कर्जा दिनु, २० प्रतिशत डाउन पेमेन्ट भए पुग्नु र संचालन खर्च पनि कम लाग्ने कारण अहिले ७० प्रतिशत माथि ईभी बिक्री हुन थालेको देखिन्छ ।

यी सबै कुरालाई दृष्टिगत गर्दै हामीले सन् २०२४ मा पनि ईभीको बिक्री राम्रै संख्यामा बढ्ने ७ कारणहरु यहाँ प्रस्तुत गरेका छौं ।

छनौट धेरै

चीन, भारत, कोरिया, यूरोप र अमेरिकामा उत्पादन भएका विद्युतीय कार बजारमा उपलब्ध हुन थालेका छन् । मूल्यका हिसावले १३ लाख रुपैयाँदेखि २ करोड ३० लाख पर्ने प्रिमियम एसयूभी इलेक्ट्रीकमा किन्न पाइन्छ ।

सन् २०२४ को सुरुवातसँगै ओमोडा, दिपल, नामी, एवोन, गेटोर, भिनफास्ट, हुन्डाई, किया, महिन्द्रा जस्ता ब्राण्डका नयाँ ईभी बजारमा प्रबेश गर्नेछन् । यी सबै ब्राण्डका नयाँ ईभी बजारमा आएसँगै ग्राहकलाई छनोट बढ्ने छ ।

रेन्ज र फास्ट चार्जिङ सपोर्ट

अहिले बजारमा ३०० देखि ५०० किलोमिटर सहजै दिने कारहरु उपलब्ध छन् । अहिले आइरकेका विद्युतीय कारहरुको रेन्ज निकै राम्रो छ । हालै लन्च भएको ओमोडा ई–५ को ४३० किलोमिटरको रेन्ज छ । दिपल एस७ को रेन्ज ५०० किलोमिटर भन्दा बढि रहेको कम्पनीको भनाइ छ ।

रेन्ज बढि भएसँगै चालकलाई हुने ‘रेन्ज एन्जाइटी’ हट्न थालेको छ । कारको आर्किटेक्चरमा पनि व्यापक सुधार हुँदै आएकोले १०० किलोवाटसम्मका फास्ट चार्जर सपोर्ट गर्न थालेको छ ।

पावरफुल मोटर

हामी सबैलाई थाहा छ ईभीले साउन्ड पोलुसन गर्दैन । विद्युतीय कारहरु परम्परागत ग्यासोलीन गाडीभन्दा तिब्र गतिमा चल्न सक्छन् । ग्योसोलिन इन्जिनलाई टर्क जेनेरेट गर्न धेरै आरपीएममा पुग्नु पर्छ । तर, ईभीमा भने जीरो आरपीएमबाटै टर्क पाइन्छ । अझ पर्फमेन्स मोडलहरुमा २ देखि ४ वटासम्म इलेक्ट्रीक मोटर हुने भएकाले पावर र टर्क अनम्याचेवल हुने गर्छ ।

पेट्रोलको मूल्य बढ्ने चिन्ता गायब

भारतबाट मात्रै आयात गर्ने र बिक्री गर्ने पनि नेपाल आयल निगम मात्रै भएको कारण हरेक १५ दिनमा मूल्य बढ्ने चिन्ता रहन्छ । नेपाल आयल निगमले अँग्रेजी महिनाको १ र १५ तारिखमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्दै आएको छ ।

ईभी भएका हरुलाई यसरी प्रत्येक १५ दिनमा मूल्य घटबढ हुने चिन्ता नै लिनु पर्दैन । आफ्नै घरको विजुलीको प्रयोगबाट ईभी चार्ज गर्न सकिन्छ ।

सर्भिसिङमा बचत

ईभीमा इन्धनको रुपमा बिजुली प्रयोग हुने भएकोले प्रतिकिलोमिटर रनिङ कस्ट कम हुन्छ । साथै, यसको सर्भिसिङ लागत पनि एकदमै कम छ । एक दुई कम्पनीले बदमासी गरेर धेरै पटक सर्भिसिङमा बोलाए पनि ईभीमा धेरै सर्भिसिङ गर्नु पर्दैन ।

ईभीमा लुब्रिकेन्ट चेन्ज गर्नु पर्दैन, इन्जिनको एयर फिल्टर, गियर आयल, लगायतका फेर्नु नपर्ने भएकोले सर्भिसिङ खर्च कम आउँछ ।

मूल्यमा निरन्तर गिरावट

ईभीको बढ्दो उत्पादनसँगै लागत कम हुँदा मूल्य घट्दै गएको छ । अझ ईभीको सबैभन्दा ठूलो लागत ‘हाइभोल्टेज ब्याट्री’मा हुने भएकोले त्यसको मूल्य निरन्तर घट्दै गएको छ ।

ईभीको ब्याट्री प्याक उत्पादनका प्रमुख तत्वहरु लिथियम, कोवाल्ट, निकेल, म्याग्नेसीस जस्ता रसायनहरु अत्याधिक मात्रामा उत्खनन् भएका कारण मूल्य घटिरहेको छ ।

बढ्दो फास्ट चार्जरको उपलब्धता

नेपालमा केहि वर्ष अघिसम्म ईभीको फास्ट चार्जर थिएन । तर, गत वर्ष बिद्युत प्राधिकरणले एकै पटक ५० भन्दा बढि स्थानमा १२० किलोवाटको फास्ट चार्जर संचालनमा ल्यायो । प्राधिकरणलाई पछ्याउदै नेपालमा ईभी बिक्री गर्ने प्रायः सबै अटोमोवाइल कम्पनीले आफ्नै फास्ट चार्जिङ नेटवर्क बनाउँदै लगेका छन् ।

नेपालमा टाटा मोटर्सले ईभी बिक्री गर्नु अगाडिबाटै दर्जनभन्दा बढि स्थानमा फास्ट चार्जर स्थापना गरेको थियो । त्यसपछि बीवाइडी र एमजीले पनि धेरै वटा फास्ट चार्जर स्टेशन बनाइसकेका छन् ।


Back_to_top