१० महिनामा १९० वटा इलेक्ट्रीक कार बिक्री, कुन कम्पनीको कति (तथ्यांकसहित)

काठमाडौं । सरकारले इलेक्ट्रीक सवारीलाई प्राथमिकता दिने नीति लिएसँगै नेपालमा इलेक्ट्रीक कारको आयात बढेको छ । निजी प्रयोजनका लागि ल्याइने इलेक्ट्रीक सवारीमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक दस्तुरमात्र लाग्ने व्यवस्था सरकारले गरेको छ । 

त्यस्तै सार्वजनिक प्रयोजनको इलेक्ट्रीक सवारीमा १ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटको व्यवस्था गरेको छ । 

इलेक्ट्रीक सवारी आइसी इन्जिनयुक्त सवारीको तुलनामा निक्कै महँगो प्रविधिमा बन्ने गरेको छ । सरकारले इलेक्ट्रीक सवारीले वातावरण प्रदूषण कम गर्ने भएकाले आइसी इन्जिनयुक्त सवारीको तुलनामा भारी कर छुट दिएको हो । त्यसैको परिणाम स्वरुप नेपालमा विभिन्न ब्रान्डका इलेक्ट्रीक कार उपलब्ध हुँदै आएका छन् । 

२०७५ साउनदेखि २०७६ बैशाखसम्मको १० महिनाको अवधिमा नेपाली बजारमा १ सय ९० वटा इलेक्ट्रीक कार भित्रिएको तथ्यांक छ । नेपाली बजारमा महिन्द्राको इटूओ धेरै अघिदेखि बिक्री हुँदै आएको थियो । सुरुमा महिन्द्राले रेभा इलेक्ट्रीक कार नेपाल भित्र्याएको हो । 

अहिले महिन्द्राको इटूओ र ई–भेरिटो, किया सोल इभी, हुन्डाई आयोनिक र कोना, बीवाईडी ई–६ नेपाली बजारमा बिक्री हुँदै आएका इलेक्ट्रीक कार हुन् । ०७५ साउनदेखि ०७६ बैशाखसम्मको १० महिनामा सबैभन्दा धेरै महिन्द्राको इटूओ बिक्री भएको छ । १० महिनामा महिन्द्रा इटूओ १ सय ५ यूनिट बिक्री हुँदा हुन्डाईको कोना इभी ४० वटा बिक्री भएको तथ्यांक छ । 

हुन्डाई कोनापछि धेरै बिक्री हुनेमा महिन्द्रा इ–भेरिटो रहेको छ । १० महिनामा १६ वटा इ–भेरियो बिक्री भएको हो । त्यस्तै हुन्डाईको आयोनिक १० महिनामा १२ यूनिट बिक्री भएको हो । यो कार गत वर्षको नाडा अटो शोमा सार्वजनिक भएको हो । 

बीवाईडी इ–६ नेपाली बजारमा १० महिनामा १० वटा बिक्री हुँदा किया सोल इभी ७ वटा बिक्री भएको तथ्यांक छ । 

पछिल्लो समयमा भने नेपाली बजारमा चिनियाँ कम्पनी दायका इलेक्ट्रीक कार उपलब्ध रहेका छन् । त्यस्तै कियाले अर्को इलेक्ट्री कार निरो नेपाल भित्र्याएको छ । अन्य कम्पनीहरु एमजी, टाटालगायत कम्पनीले पनि बिक्री गर्ने गरि इलेक्ट्रीक सवारी ल्याउने क्रममा रहेका छन् । 

आगामी भदौमा हुने नाडा अटो शोमा इलेक्ट्रीक कार मुख्य आकर्षणको रुपमा रहने अनुमान गरिएको छ । सरकारले हालै व्यापार घाटा न्यूनिकरण गर्न ल्याएको नयाँ नीतिले पनि इलेक्ट्रीक सवारीलाई थप प्रोत्साहन मिलेको छ । 


Back_to_top