काठमाडौं । सुरक्षा र प्रतिस्ठाको हिसावले महंगा कार चढ्न सक्ने हैसियत भएका परिवारलाई जेन-जी आन्दोलनले तर्साएको छ । आन्दोलनका क्रममा ब्यक्तिको पैतृक सम्पत्ति माथि भएको आक्रमणले धेरैमा डर पैदा गरेको हो ।
मानिसले पैसा कमाएपछि आफ्नो क्षमता अनुसार खर्च गर्न पाउनु उसको नैसर्गिक अधिकार भएपनि नेपालमा भइरहने आन्दोलन र ब्यवस्था परिवर्तनले डर पैदा गर्नु स्वभाविक नै हो ।
जेन-जी आन्दोलनपछि बुकिङ गरेर अर्डर नै गरिएका कार पनि डेलिभरी लिन धेरै मानिस डराइरहेका छन् । प्रिमियम कार बिक्री गर्नेहरु नै अहिले अलमल्लमा परेको अवस्था छ ।
बीएमडब्लू एक्स७, रेन्ज रोभर, टोयोटा एलसी ३०० जस्ता गाडी लिनको लागि शोरुम पुगेका र बुकिङ नै गरेका मानिसले पनि अहिले डेलिभरी लिन चासो देखाएका छैनन् ।
नेपाली बजारमा अउडी, ल्याण्ड रोभर, पोर्श्स जस्ता लग्जरी ब्राण्ड बिक्री गर्दै आएको अरेट इन्टरनेशनलमा आन्दोलन अगाडि दैनिक रुपमा प्रिमियम गाडीको लागि ताकेता गर्नेहरु अहिले गाडी शोरुममा आइपुग्दा पनि लिन नआएको कम्पनीको भनाइ छ ।
‘पहिला दिनदिनै ताकेता गर्नेहरु पनि अहिले गाडी आयोभन्दा वास्ता गर्दैनन्’, अरेट इन्टरनेशनलका सीईओ विकास श्रेष्ठले भने । उनिभन्छन्, ‘हामी ग्राहकको आवश्यकता र छनौट अनुसार गाडी कस्टुमाइज गरेर ल्याउँछौं । यसको मतलव हाम्रा ग्राहक पहिल्यै निश्चित हुन्छन् । तर, जेन-जीको आन्दोलनपछि शोरुम आएका गाडी पनि लगेका छैनन् ।’
यस्तै समस्या अन्य प्रिमियम ब्राण्डका गाडी बिक्री गर्नेको पनि छ । बीएमडब्लू नेपालका जनरल मेनेजर प्रबोध श्रेष्ठ भन्छन्, ‘महंगा मोडलको सोधपुछ नै लगभग बन्द छ । केही समयपछि हेरौंला भन्ने मनस्थितिमा उपभोक्ता पुगे जस्तो लाग्छ ।’
गाडीको मूल्य मात्र नभएर साइजको आधारमा समेत उपभोक्ता हच्किन थालेका हुन् कि जस्तो लागिरहेको बिक्रेताहरुको भनाइ छ । साँग्रिला मोटर्सको सेल्स इन्चार्जं उज्ज्वल केसी भन्छन्, ‘ठूला साइजका गाडी बुकिङ गर्ने ग्राहकले पर्खनुहोस् भन्दैछन् । सायद आन्दोलनकै असरत होला नि ।’
विशेषत तिहारपछिको माहोल कुरेर बस्ने धेरै ब्यवसायी पनि राजनीतिक बाटो पर्खेर बसेका छन् । उनिहरुको एउटै भनाइ छ, ‘राजनीतिले कस्तो बाटो लिन्छ, बजार त्यतै जाने हो । चुनाव समयमा भएर देशले नयाँ बाटो समाते कार बजार राम्रै हुन्छ होला । अन्यथा अहिल्यै केही भन्न सकिँदैन ।’

