काठमाडौं । साना कारको बजार मानिने नेपालमा एक करोड माथिका कारको दबदबा बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा ४० हजार डलर आसपास मूल्य रहेका विद्युतीय साधन नेपालमा १ करोडभन्दा माथि मूल्यमा बिक्री वितरण सुरु भइरहेका छन् ।
विश्व बजारमा ४० हजार डलर मूल्य रहेका पेट्रोलबाट चल्ने कार नेपालमा २ करोड ५० लाख रुपैयाँ हाराहारी मूल्य पर्ने भएकाले इन्टरनल कम्बस्चनको तुलनामा इलेक्ट्रीक कारहरु नेपालमा सस्तो मानिन्छन् । त्यसैले २ करोड माथिका गाडी किन्ने योजना बनाएकाहरुले प्रिमियम र लग्जरी इलेक्ट्रीक मोडल किन्न थालेसँगै महंगा ईभी नेपाल आउन थालेको हो ।
अहिले नेपालमा महंगा ईभी बिक्री गर्ने ब्राण्डमा बीएमडब्लू, टेस्ला, हुन्डाई, अउडी, किया, बीवाइडी जस्ता ब्राण्ड छन् । यी ब्राण्डले एक करोड मूल्य माथिका कारहरु नेपालमा उपलब्ध गराउन थालेका छन् । केही ब्राण्डले चाँडै ल्याउने घोषणा गरेका छन् ।
प्रिमियम सेग्मेन्टमा उपलब्ध यस्ता विद्युतीय गाडीमा ग्राहकको आकर्षण पनि राम्रै देखिएको छ । बीएमडब्लू एक्स थ्रीको मूल्य २ करोड ७५ लाख हाराहारी छ । तर, इलेक्ट्रीकको मूल्य २ करोड ३० लाख मात्रै छ । महंगो टेक्नोलोजीका बाबजुद इलेक्ट्रीक कार सस्तो भएकाले पनि धेरैको रोजाईमा ईभी पर्न सुरु भएको हो ।
अहिले नेपालमा उपलब्ध १ करोड मूल्य माथि पर्ने विद्युतीय कारहरु यस प्रकार रहेका छन् ।
बीएमडब्लू आईएक्स-३
जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपालमा बिक्री भइरहेको छ । ८० किलोवाट आवर क्षमताको ब्याट्री र २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध आईएक्स–३ ले ४०० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परिक्षणले प्रमाणित गरेको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा सून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
पानारोमीक ग्लास रुफ, ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको एसयूभीमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बीयन्ट लाइट पाउन सकिन्छ । यसको मूल्य २ करोड २९ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको हो ।
टेस्ला मोडल थ्री र वाई
अरेटी इन्टरनेशनलले नेपालमा बिक्री गर्दै आएको टेस्ला मोडल वाई अर्को प्रिमियम कार हो । विशेषत सुरक्षालाई ध्यानमा राखेर तयार भएको मोडल वाईमा इम्प्याक्ट प्रोटेक्सन, निकै बलियो बडी स्टक्चर र लो सेन्टर अफ ग्राभिटी पाउन सकिन्छ । साथै, टेस्ला मोडल वाइमा टेक्नोलोजीमा आधारित ५० भन्दा धेरै सुरक्षा फिचर छन् ।
टेस्ला मोडल वाईमा २० इन्चको अलोय ह्वील, पावर एड्जस्टेवल अगाडि र पछाडिको सिट, सबै हिटेड सिट, प्रिमियम अडियो सहितको १३ वटा उफर, एलइडी फगल्याम्प, १५ इन्चको इन्फर्मेशन डिस्प्ले रहेको छ ।

टेस्लाको मोडल वाई रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । रियर ह्वील ड्राइभमा २०९ किलोवाट क्षमताको मोटर छ भने अल ह्वील ड्राइभ सिस्टममा अगाडि र पछाडि रहेको दुबै मोटरको संयुक्त मोटरको पावर २९१ किलोवाट रहेको छ ।
टेस्लाले मोडल वाईमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
नेपाली बजारमा रियर ह्वील ड्राइभ अप्सनको मूल्य १ करोड ९० लाख रुपैयाँ तोकिएको छ भने अल ह्वील ड्राइभको २ करोड ५ लाख रुपैयाँ मूल्य निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ ।
टेस्ला मोडल थ्री पनि महंगो सेडान कार हो । कम्पनीले यसलाई १ करोड २० लाख मूल्य तोकेर बिक्री गर्दै आएको छ ।
अउडी क्यूफोर
अउडी क्यूफोर इट्रोन पनि लग्जरी इलेक्ट्रीक कार हो । यसको क्यावीन क्लिन मिनीमलीस्टीक डिजाइनमा तयार भएको छ । सफ्ट टच मेटिरीयल प्रयोग भएको क्याविन पुरै व्ल्याक थिममा सजिएको छ ।

अउडी क्यूफोर इट्रोनमा ५५ किलोवाट आवरको ब्याट्री प्याक छ, यसलाई सिंगल चार्जमा ३५० किलोमिटर गुडाउन सकिन्छ । यो ब्याट्रीलाई फास्ट चार्जरको मद्दतले ३० मिनेटमै १० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।
रियर ह्वीलमा १२५ किलोवाटको मोटर रहेको क्यूफोर एसयूभीको टपस्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई ९ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुडाउन सकिन्छ । यसको मूल्य १ करोड ५० लाख रुपैयाँ रहेको छ ।
कियाले ईभी-६
किया ईभी सिक्स नेपाल आएको छैन । अहिले बुकिङ लिइरहेको यो प्रिमियम कार अबको केही दिनमा नै नेपाल आउने छ । कम्पनीले यसको मूल्य १ करोड २४ लाख ९० हजार निर्धारण गरेको छ ।
हुन्डाई मोटर ग्रुपको ‘ईजीएमपी’ (इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्म) मा बनेको यो क्रसओभर उत्कृष्ट पर्फमेन्स, फ्रिडम र भविष्य उन्मुख डिजाइनको लागि प्रसिद्ध छ ।
किया कनेक्ट (यूभीओ) फिचरको साथ उपलब्ध हुने ईभी-६ बाट कुनै अर्को साधन पनि गर्न पनि सकिन्छ । त्यसको लागि ३.६ किलोवाटको चार्जर दिइएको छ । चालकलाई सहज होस् भनेर कारमा वायरलेस फोन चार्जर, एडप्टिभ ड्राइभिङ बीम सहितकोड्यूल एलईडी हेडल्याम्प, चालक र अगाडिको प्यासेन्जरको लागि प्रिमियम रेग्जीनको सिट जस्ता फिचर दिएको छ ।

कियाले ईभी–६ मा जीटी लाइन भेरियन्टमा ७७.४ किलोवाट आवरको ब्याट्री दिएको छ । यसले एक पटकको फुलचार्जमा ५०५ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
सम्भवत नेपाल आउने ईभी–६ मा १६८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । यसमा रहेको ब्याट्रीलाई ३५० किलोवाट क्षमताको चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न केबल १८ मिनेट मात्रै लगाउने कम्पनीको दावी छ ।
हुन्डाई आयोनीक-५
हुन्डाई आयोनिक फाइभ नेपाल उपलब्ध प्रिमियम कार मध्येको एक सफल र टेष्टेड क्रसओभर हो । अहिले यसको मूल्य १ करोड २ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनीक ५ को सबैभन्दा बलियो पक्ष हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको कारण यसले ३५० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्छ ।

आयोनीक ५ नेपालमा उपलब्ध मध्ये सबैभन्दा छिटो चार्ज हुन सक्ने ईभी हो । ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले यसलाई १८ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।
यूरोप, अमेरिकी र एशियाली देशमा बिक्री हुँदै आएको आयोनीक ५ मा ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा १२५ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।
आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न किल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आमरेष्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टीक वोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मूल्य विशेषता हो ।
थपिदै प्रतिस्पर्धी
यही सेग्मेन्टमा बीवाइडीको प्रिमियम सेडान सिल र स्काइवेलको एसयूभी इटी-५ नेपाली बजारमा तत्काल थपिने प्रतिस्पर्धी हुन् । यी दुबै गाडी १ करोड माथि मूल्य तोकेर नेपालमा बिक्री सुरु हुँदैछन् ।

बीवाइडीले भन्सारमा उल्लेख गरेको अधिकतम खुद्रा बिक्री मूल्य १ करोड ५ लाख प्रकाशित गरेर सिल नेपाल ल्याएको छ । उता स्काइवेलले इटी–५ को मूल्य १ करोड ९ लाख रुपैयाँ तोकेर बुकिङ खुल्ला गरेको छ ।

बजारमा ईभीको चर्चा बढ्ने र बिक्रीमा उछाल आएसँगै महंगा गाडीको आयात तिब्र गतिमा भइरहेको छ ।

