काठमाडौं । नाडा अटो शो नजिकिएसँगै गाडी बिक्रेता कम्पनीले आफ्नो स्टलमा नयाँ नयाँ मोडल प्रदर्शनी गर्न लागि परेका छन् । यही क्रममा सिजी मोटर्सले नेटाका ३ नयाँसहित ४ मोडल प्रदर्शनी गर्ने भएको हो ।
होजोन मोटर्सको नेटा भी मोडल बिक्री गर्दै आएको सिजी मोटर्सले अटो शोमा नेटा यू, नेटा एस र जीटी मोडल प्रदर्शनी गर्न लागेको हो । यी सबै मोडल अहिले बिक्रीको लागि नभइ अटो शोमा प्रदर्शनी गर्न ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
‘हामी अवलोकनकर्तालाई नेटा ब्राण्ड के हो भन्ने बुझाउन चाहन्छौं । विश्वकै तिब्र गतिमा बिस्तार भइरहेको स्टार्टअप कम्पनीको पाइप–लाइनमा भएका उत्पादन नेपालमा पनि देखाउने योजना अनुसार हामी धेरैभन्दा धेरै मोडल प्रदर्शनी गर्न चाहन्छौं’, सिजी मोटर्सका सीईओ हेमन्त अग्रवालले भने ।
अग्रवालका अनुसार नेटा भी बाहेकका सबै मोडल केवल अहिलेलाई प्रदर्शनीको लागि मात्रै आउने छन् । लेफ्ट ह्याण्ड ड्राइभमा उपलब्ध यी मोडल प्रदर्शनी सकिएपछि चीनमा नै फिर्ता पठाइने छ ।
यस्ता छन् सिजीले प्रदर्शनी गर्न लागेको ३ नयाँ मोडलहरु

नेटा यू राम्रो र लङ रेन्ज एसयूभी हो । यसमा ८१.७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । १७२ किलोवाट क्षमताको मोटर जडान भएको नेटा यूले सिंगल चार्जमा ६११ किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।
त्यस्तै कम्पनीले ल्याउन लागेको नेटा एस प्रिमियम सेडान हो । होजोन मोटर्सले अल ह्वील ड्राइभ सिस्टममा यसलाई ल्याएको छ । यसको संयुक्त पीक पावर ३४४ किलोवाट रहेको छ ।

नेटा एसमा ९५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।
दुई ढोका भएको नेटा जीटी प्रिमियम कुप्पे कार हो । यसलाई कम्पनीले रियर स्पोर्टस् कार भनेको छ । विभिन्न ब्याट्री क्षमता र मोटर पावरमा उपलब्ध नेटा जीटी मोडलको टप भेरियन्टले ६६० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

होजोन मोटर्सले यसमा १७० देखि ३४० किलोवाट क्षमताको मोटर र ६२ देखि ७८ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ ।


