काठमाडौं । कार हराएको २९ वर्षपछि भेटिएको घटनाले सबैलाई आश्चर्य चकित बनाएको छ । अस्ट्रियाका पूर्व फर्मुला वान रेसर गेरहार्ड बर्जरको सन् १९९५ मा चोरी भएको ‘फरारी एफ-५१२ एम टेस्टारोसा’ कार २९ बर्षपछि फेला परेको हो ।
गेरहार्ड बर्जर र एफ वान स्टार समेत रहेका उनका साथी जीन एलेसीको निजी कार १९९५ मा एकै साथ चोरी भएको थियो । चोरी भएको २९ वर्षपछि बर्जरको फरारी ब्रिटेन महानगर प्रहरीले लन्डनमा भेट्टाएको हो ।
बर्जरका अनुसार होटलको पार्किङबाट उनको रातो कलरको फरारी चोरी भएको थियो । वेलायती प्रहरीका अनुसार फरारी कम्पनीबाट रिपोर्ट आएपछि जनवरीमा जाँच सुरु गरिएको थियो । बेलायतको रिकन्डिशन हाउसबाट एक अमेरिकी नागरिकले खरिद गरेको उक्त कारको जाँच गर्दा चोरीको भएको पुष्टि भएको थियो ।
प्रहरीले चार दिन भित्र कारको सबै डिटेल्स निकालेर बर्जरको कार भएको कुरा पत्ता लगाएको हो । कार चोरी हुनासाथ सुरुमा जापान पुर्याइएको र सन् २०२३ को अन्तिममा युके ल्याइएको प्रहरीको भनाइ छ ।
२९ बर्ष अगाडि चोरी भएको कार बेलायती प्रहरीले राष्ट्रिय अपराध एजेन्सी र अन्तर्राष्ट्रिय कार डिलरको सहयोगमा चार दिनमै पछ्याएरसमात्न सफल भएको हो ।
बर्जर आफ्नो १४औं सिजनको फर्मुला वान रेसिंग करियरमा सबैभन्दा लोकप्रिय मानिएका रेसर मध्येका एक हुन् । उनले १० ग्रयाण्ड प्रिक्स रेस जितेका थिए भने दुई पटक फरारीका लागि रेसिंग गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।
बर्जरको चोरी भएको फरारी कारको अन्तर्राष्ट्रिय बजार मूल्य ३ लाख ५० हजार पाउन्ड रहेको छ ।


