फोर्डले भारतमा इलेक्ट्रीक कार बनाउने, निर्यात मात्रै गर्ने योजना

सांकेतिक तस्विर

काठमाडौं । करिब ६ महिनाअघि भारतबाट बाहिर निस्कने निर्णय गरेको फोर्डले पुनः भारत फर्कने बाटो देखेको छ । भारत सरकारले न्यू इनर्जी भेहिकल निर्माणमा प्रडक्सन लिङ्क इनिसेटीभ (पिएलआई) स्कीम दिने योजना अगाडि ल्याएसँगै फोर्डको भारतमा रहेको दुई प्लान्ट मध्ये एउटामा इभी उत्पादन गर्ने चर्चा चुलिएको हो ।

पीएलआई स्कीम अन्तर्गत फोर्डले पनि सरकारबाट अनुमति पाएसँगै फोर्ड इन्डियाका कम्यूनिकेशन डाइरेक्टर कपिल शर्माले भने, ‘हामी सरकारलाई धन्यवाद दिन चाहन्छौं । सरकारले फोर्डको योजनालाई स्विकृत दिएको छ । जसरी फोर्डले विश्वभर विद्युतीय गाडी उत्पादनमा जोड दिदैआएको छ । अब भारतमा विद्युतीय गाडी उत्पादन गरेर निर्यात गर्नसमेत फोर्ड तयार भएको छ ।’

योसँगै भारतमा फोर्डले फेरी गाडी उत्पादन गर्ने भएको हो । कम्पनीले आफ्नो भारतमा रहेको दुई मध्ये एउटा प्लान्टमा उत्पादन गर्ने बताएको छ । त्यसको लागि कम्पनीले आईसी इन्जिनको सट्टा इभीको लागि उपयुक्त प्लान्ट बनाउने छ ।

भारत सरकारले दिने सहुलियतसँगै फोर्डले विश्वभर इभी र हाइब्रिड कार उत्पादनमा ३० बिलियन अमेरिकी डलर खर्च गर्ने योजना अगाडि सारेको छ । सम्भवत फोर्डले भारतमा कम मूल्यका इलेक्ट्रीक कार उत्पादन गर्ने छ । त्यसको लागि नयाँ प्लेटफर्म तयार गर्नेछ ।

भारतीय बजारमा उत्पादन भएपनि यी गाडी भारतमा तत्काल विक्री हुने छैनन् । पीएलआई स्कीम अन्तर्गत उत्पादन भएका इभी निर्यात गर्न मात्रै पाइने उल्लेख छ । त्यसको फाइदा फोर्डले उठाउन सक्ने छ । यो स्कीम अन्तर्गत भारतमा उत्पादन हुने फोर्डका कार नेपाल भने आउने छ ।

भारतमा सर्भिसमा निरन्तर रहने घोषणा गरेको फोर्डले नयाँ इलेक्ट्रीक गाडी आयत गरेर विक्री सुरु गर्ने योजना समेत बनाइरहेको छ । नेपालमा पनि फोर्डले थाइल्याण्ड लगायतका देशका उत्पादन ल्याएर विक्री सुरु गरिसकेको छ ।


Back_to_top