भारतीय सवारी उत्पादन कम्पनी महिन्द्रा र अमेरिकी सवारी उत्पादक कम्पनी फोर्ड गाभिएर नयाँ ज्वाइन्ट–भेन्जर कम्पनी बनाउने भएका छन् । दुई कम्पनीबीच साझेदारी गर्ने अन्तिम चरणमा पुगेको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।
उक्त समझदारी टुँगोमा पुगेमा भारतमा फोर्डको स्वतन्त्र अस्थित्व रहने छैन । दुई सवारी उत्पादकबीच जारी छलफलमा फोर्डको बेग्लै युनिट रहेमा उसको शेयर ४९ प्रतिशत र महिन्द्राको ५१ प्रतिशत शेयर रहने जनाइएको छ ।
अहिले भइरहेको छलफल अनुसार फोर्डको भारतमा रहेको सम्पत्ति तथा कामदार सबै नयाँ कम्पनीमा ट्रान्सफर हुने छन् ।
फोर्ड इन्डियाले यस विषयमा अहिल्यै केही धारण सार्वजनिक गर्ने समय नभएको टिप्पणी गरेको छ । तर, विगतमा पनि महिन्द्रासँग सहकार्य भएको र यो निरन्तर रहने प्रतिक्रिया फोर्ड इन्डियाले दिएको छ ।
नेपाली बजारमा महिन्द्रा र फोर्डका सवारी भिन्दा भिन्दै बिक्रेता मार्फत भित्रिँदै आएको छ । महिन्द्राका प्यासन्जर सवारी अग्नी ग्रुप अन्तर्गतको अग्नी इनकर्पोरेटेडले बिक्री गर्दै आएको छ, भने फोर्डको गाडी गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ फोर्डले बिक्री गर्दै आएको छ ।
महिन्द्रा र फोर्ड भारतमा मर्ज भएभने नेपालमा के हुन्छ भन्ने जिज्ञासा हुनु स्वभाविक हो । तर अहिल्यै नेपालमा कसले बिक्री गर्ला भनेर आँकलन गर्नु भने हतार हुनेछ ।


