दशैंमा ३० लाखभन्दा कम मूल्यको कार किन्ने योजना भए हेर्नुहोस् ४ मोडल

काठमाडौं । विगतका वर्षहरुको बिक्री आँकडा हेर्दा धेरै नेपालीले दशैंको मौका पारेर धेरै सवारीसाधन किन्ने गरेका छन् । आम्दानीको हिसावले पनि त्यतिबेला केही बढी हुने र गाडी बिक्रेताहरुले पनि स्कीम दिने भएको कारण चाडपर्वको सिजनमा गाडी धेरै बिक्री हुने गरेको छ ।

विगत ४ वर्षदेखि हुन नसकेको नाडा अटो शो आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेकोले योसँगै चाडपर्व लागेको भान हुन्छ । सबै कम्पनीले अटो शोमा नै ग्राहकमैत्री स्कीम ल्याउने अनुमानसमेत गरिएको छ ।

अहिले बजारमा धेरै मानिसको छनोट एसयूभी डिजाइनका गाडी हुने गरेका छन् । गाडी उत्पादकदेखि बिक्रेताले पनि साना एसयूभी बडी डिजाइनलाई प्राथमिकतामा राखेर गाडी ल्याउने गरेका छन् । तर, ३० लाखभन्दा कम मूल्यमा एसयूभी डिजाइनको गाडी भने किन्न पाइदैन ।

त्यसैले ३० लाखभन्दा कम मूल्यमा तपाईले उत्कृष्ट कार किन्ने योजना बनाउनु भएको छ भने बजारमा उपलब्ध मध्ये हामीले सिफारीस गरेका ४ ह्याचव्याक मोडलको टेष्ट ड्राइभ भने गर्नुहोला ।

हुन्डाई ग्राण्ड आई १० नियोसको इन्ट्री भेरियन्ट २९ लाख ९६ हजार मूल्य तोकेर बिक्री हुँदै आएको छ । यो सफल ह्याचव्याकको इन्ट्री भेरियन्टमा पनि राम्रा फिचर पाउन सकिन्छ ।

हुन्डाईको सफल ह्याचव्याकमा उसको चर्चित १.२ लिटर कप्पा इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनको पफर्मेन्स उत्कृट रहेको छ । त्यसैले तपाई ३० लाखभन्दा कम बजेटमा कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने ग्राण्ड आई १० नियोस टेष्ट ड्राइभ एक पटक अवस्य गर्नुहोला ।

सुजुकी सेलेरियो पारिवारीक कारमा निकै नाम कमाएको मोडल हो । मारुती सुजुकीले बनाएको १.० लिटर इन्जिनले निकै उत्कृष्ट माइलेज दिने भएको कारण यो कार पनि तपाईले हेर्न सक्नु हुन्छ । कम्पनीको दावी जस्तो भएपनि सेलेरियोले प्रति लिटर २० किलोमिटरसम्म माइललेज दिन्छ ।

सेलेरियो जेडएक्सआई भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैले यसलाई पनि टेष्ट ड्राइभ गरेर हेर्दा तपाईलाई आफ्नो लागि उपयुक्त कार छनोट गर्न सहयोग पुग्छ ।

टाटाले नेपाल ल्याउन लागेको इलेक्ट्रीक टियागो ह्याचव्याक टेष्ट ड्राइभ गर्न नछुटाउनु होला । आगामी नाडा अटो शोबाट नेपाल प्रबेश गर्न लागेको टियागोमा २४ किलोवाट आवर ब्याट्री र ५० किलोवाट आवरको मोटर रहने अपेक्षा गरिएको छ ।

बजारमा उपलब्ध विलिङ एयर मिनी ईभी पनि तपाईको बजेट भित्रै पर्ने कार हो । यसको मूल्य २० लाखदेखि ३० लाखसम्म पर्छ । यदि तपाईले यहि कार लिएर नेपालको कुना काप्चा घुम्ने योजना बनाउनु हुन्छ भने यो कार तपाईको लागि उपयुक्त हुँदैन । तर, सहरी क्षेत्रमा काम गर्ने शिलसिलामा प्रयोग गर्ने हो भने ठिक हुन्छ । यसमा ३० किलोवाटको मोटर रहेको छ ।


Back_to_top