काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले नेपालमै सवारी साधन उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै आफ्नो सरकार बनेको भए नेपालमै सवारी बनाउने नीति ल्याउने बताएका हुन् ।
केही दिन यता सामाजिक संजालमा भावी अर्थमन्त्रीका रूपमा समेत हेरिएका रास्पवा नेता डा. स्वर्णिम वाग्लेले ‘नयाँ सवारी खरिदमा लाग्ने ३००%’ कर हटाउने भनेको भन्दै भ्रामक अभिव्यक्ति सम्प्रेषण भइरहेको छ ।
त्यसैलाई लक्षित गर्दै हर्कले आफू भएको भए देशमै गाडी बनाउने नीति ल्याउने प्रतिक्रिया दिएका हुन् ।
‘३००% कर घटाएर भए नि विदेशी गाडी किन्ने नीति रैछ ! हामी भएको भए यही देशमा गाडी बनाउने नीति आउने थियो । तर जनताले चाहेनन् ! जय जनता जनार्दन !,’ हर्कले लेखेका छन् ।
यद्यपि हर्कले वास्तविकता नबुझी फैलिएको हल्लालाई नै आधार मानि यस्तो प्रतिक्रिया दिएका हुन् ।डा. वाग्ले कहीँ कतै त्यस्तो अभिव्यक्ति नदिएको उनको सचिवालयले स्पष्ट पारिसकेको छ ।

