काठमाडौं । हिरो मोटोकर्प भारतको सबैभन्दा ठूलो र विश्वकै ठूलो मध्येको एक मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हो । संख्यात्मक रुपमा विश्वकै धेरै मोटरसाइकल उत्पादन गर्ने कम्पनीले अबको एक वर्ष भित्र ५ नयाँ मोडल बजारमा उतार्ने भएको छ ।
कम्पनीले १६०, ३०० र ५०० सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउने छ भने एउटा कम्बस्चन इन्जिन युक्त स्कुटर र अर्को इलेक्ट्रीक स्कुटर ल्याउने जनाइएको छ । यसले बजारमा आफ्नो बर्चस्व कायम राख्ने हिरोको योजना रहेको छ ।
हिरोले अहिले बजारमा १०० सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएको छ । नयाँ मोटरसाइकल उत्पादनसँगै हिरोले ५०० सीसीसम्मको मोटरसाइकल उत्पादन गर्नेछ ।
कम्पनीले बजारमा ल्याउने तयारी गरिरहेका ३ मोटरसाइकल र २ स्कुटर यस प्रकार रहेका छन् ।
हिरो एक्स्ट्रीम १६० आरः हिरोले एक्स्ट्रीम १६० आर तयार गरिसकेको मोडल हो । कोरोना भाइरसको कारण यसलाई बजारमा बिक्री वितरण सुरु गर्न भने कम्पनीले पाएको छैन । यो हिरोको सबैभन्दा छिटो कुद्न सक्ने मोटरसाइकल समेत हो । यसले ० देखि ६० किलोमिटरको रफ्तार ४.७ सेकेन्डमा भेट्टाउन सक्ने छ ।

यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ भने यसमा १६० सीसी क्षमताको एयर कुल्ड, एफआई इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले १५.२१ पीएस पावर र १४ एनएम टर्क प्रदान गर्नेछ ।
सब-५०० एडभेञ्चर

हिरोले एक्सपल्स २०० को सफलतापछि अर्को एडभेञ्चर मोटरसाइकल बजारमा ल्याउने घोषणा गरेर एक महिनाअघि त्यसको केही आकार देखाएको थियो । कम्पनीले यो मोटरसाइकलमा ५०० सीसी क्षमता भन्दा कमको हुने बताएको थियो । संभवत कम्पनीले यसलाई केटीएम ३९० एडभेञ्चरसँग प्रतिस्पर्धा गर्नेगरि उतार्ने छ ।
हिरो ‘एक्सएफ ३ आर’
हिरोले ४ वर्ष अगाडि कन्सेप्ट सार्वजनिक गरेको ‘एक्सएफ ३ आर’लाई यही वर्ष बजारमा ल्याउने गरि काम गरिरहेको बताइएको छ । कम्पनीले यो मोटरसाइकल ‘मिड सेग्मेन्ट हाई पर्फमेन्स’ बाइक भनेको छ ।

यसमा ३०० सीसी क्षमताको इन्जिन रहने छ । यसले बजारमा मिड सेग्मेन्टमा निकै ठूलो सफलता पाउने कम्पनीले जनाएको छ ।
हिरो जीर
हिरोले म्याक्सी स्कुटरको रुपमा ल्याउन लागेको जीर यहि वर्षको अन्तिमसम्ममा बजारमा आउने जनाइएको छ । यो हिरोको निकै प्रिमियम स्कुटर हुने छ ।

प्रोजेक्टर हेडल्याम्पको साथ आउने यो स्कुटरमा सबै लाईट एलइडी रहने छ । कम्पनीले यसमा १५० सीसी क्षमताको इन्जिन दिने जनाएको छ ।
हिरो ड्यूट इलेक्ट्रीक
हिरोले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटरको रुपमा ड्यूट इलेक्ट्रीक बजारमा ल्याउने जनाएको छ । सम्भवत कम्पनीले २०२१ को सुरुवातमा यसलाई बजारमा उतार्ने छ ।

फुल डिजिडल टिएफटी डिस्प्ले रहने यो स्कुटरमा रहेको लिथिएम आयन व्याट्रीलाई एक पटक फुलचार्ज गर्दा ६५ किलोमिटर चलाउन सकिने जनाइएको छ । तर, बजारमा अन्य कम्पनीले पनि इलेक्ट्रीक स्कुटर सार्वजनिक गरिसकेको समयमा हिरोले ल्याउने यो स्कुटरको रेञ्ज केही बढ्ने अनुमान गर्न सकिन्छ ।

