काठमाडौं । मकवानपुरको हेटौंडा बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन सुरू गरिएको हो ।
डिभिजन सडक कार्यालयले हेटौंडा शनिबार बिहान साढे ५ देखि आधादर्जन बढी डोजर परिचालन गरी अवैध संरचना भत्काउन सुरू गरेको हो ।
डिभिजनले हेटौंडाको बुद्धचोक क्षेत्रबाट डोजर परिचालन गरी सडक अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने काम सुरू गरेको हो ।
सडक डिभिजन हेटौंडाले यसअघि मंसिर ५ गते सूचना प्रकाशित गर्दै १५ दिन भित्र २५ गजभित्रका सबै अवैध संरचना हटाउन भनेको थियो । उक्त म्याद भित्र स्थानीयले अवैध संरचना नहटाएपछि डिभिजन आफैंले हटाउन सुरू गरेको हो ।
२०३४ सालदेखि नै हेटौंडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो । हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार सुरू भएको हो । २५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौंडामा राजमार्गको आवागमनसमेत वैकल्पिक व्यवस्था गरिएको छ ।
अवैध संरचना हटाउँदा हुनसक्ने अवरोधलाई मध्येनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रशासनले यसअघि अतिक्रमित संरचना हटाउँदा कसैले अवरोध गर्ने कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

