काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले आजभन्दा ३५ वर्ष अगाडि ‘होन्डा रुस्कुस’को नामबाट सन् १९८८ मा स्कुटर जापानमा सार्वजनिक गरेको थियो ।
त्यसपछि होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले २००१ मा डिओ ब्रान्ड नेममा भारतमा डिओ स्कुटरको उत्पादन र बिक्री वितरण सुरु गरेको थियो । कम्पनीले यूवा वर्गलाई लक्षित गरेर भारतमा सार्वजनिक गरेको ११० सीसी क्षमताको स्कुटर भारतमा सर्वाधिक बिक्री हुने स्कुटरसमेत बन्न सफल भयो ।
होन्डा डिओको बिक्रीलाई यसको डिजाइनले मूख्य भुमिका निर्वाह गरेको छ । होन्डा डिओको डिजाइन सधैँ सार्प र युथफुल मानिदै आएको छ ।
टू स्ट्रोक इन्जिन हुँदै सुरु भएको होन्डा डिओ परिमार्जन हुँदै १२५ सीसी ४ स्ट्रोक आइपुगेको छ । योसँगै होन्डा इन्डियाले १२५ सीसी सेग्मेन्टमा आफ्नो आइकनिक ब्रान्ड नेममा डिओलाई अपग्रेड गरेको हो ।
होन्डा डिओको नेपालमा उपस्थिति
होन्डा नेपालमा बिक्री हुन थालेको करिब ५५ वर्ष भइसकेको छ । सन् २००१ मा भारतमा सार्वजनिक भए पश्चात् नेपाल भित्रिएको थियो । त्यस पश्चात् लगातार होन्डा डिओ नेपालमा सर्वाधिक बिक्री हुने स्कुटर बन्न सफल भयो ।
सन् २०१८ देखि नेपाली बजारमा धेरै कम्पनीले १२५ सीसीका स्कुटर बिक्री सुरु गरेका छन् । होन्डाले ग्राजिया १२५ स्कुटर नेपालमा सार्वजनिक गर्यो । त्यस पश्चात् भने अन्य कम्पनीले १२५ सीसी सेग्मेन्टमा स्कुटर ल्याउन थालेसँगै ११० सीसी स्कुटरको बजार विस्तारै घट्न सुरु भयो ।
स्कुटर बजार विस्तारै १२५ सीसी सेग्मेन्टमा विस्तार भएसँगै यो सेग्मेन्टमा ग्राजिया, टीभीएस एनटर्क र यामाहाले १२५ सीसी सेग्मेन्टमा आफुलाई बलियो बनाए ।
अहिले नेपालमा लगातार दुई पाङ्ग्रे साधनको बिक्री घटिरहेको अवस्थामा बजार हिस्सा अनुसार मोटरसाइकलको तुलनामा स्कुटर बलियो हुन थालेको छ ।
स्कुटर बजारमा बढिरहेको प्रतिस्पर्धामा होन्डा डिओको लिगेसीले १२५ सीसी सेग्मेन्टमा आफुलाई बलियो रुपमा प्रस्तुत गर्ने अनुमान सहजै गर्न सकिन्छ ।
कुनै समय स्कुटर भनेकै डिओ भनेर चिनिने नेपाली बजार डिओ १२५ भित्र्याउने तयारीमा होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लागेको छ ।
कम्पनीले भदौ २६ गतेदखि सुरु हुने नाडा अटो शो २०२३मा होन्डा डिओ १२५ सार्वजनिक गर्ने तयारी गरेको हो । भारतमा सार्वजनिक भएको छोटो समयमा नै होन्डा डिओ नेपाल ल्याउने तयारी भएको हो ।
यस्तो छ स्कुटर
नयाँ होन्डा डिओमा १२३.९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८.१४ बे्रकहर्स पावर र १०.३ एनएमको टर्क जेनेरेट गर्नेछ ।
नयाँ डिओमा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, वेव डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, डुवल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।
त्यसैगरी, नयाँ डिओ १२५ मा डिजिटल स्पीडोमिटर दिइएको छ । जसमा औषत इन्धनको खर्च, बाँकी पेट्रोलले दिने रेन्ज जस्ता सुचना दिन्छ । यसका साथै, नयाँ डिओमा डिजिटल डिस्प्ले, ट्रिप, समय, साइड स्ट्यान्ड इन्डिकेटर्स, स्मार्ट चाबी, एलइडी हेडलाइट, एलइडी पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस ड्यू इन्डिकेटर दिइएको छ ।
कम्पनीले नयाँ डिओमा आइडल स्टप सिस्टम, १२ इन्चको फ्रन्ट ह्वील, टेलिस्कोपीक सस्पेन्सन, कम्बी ब्रेकिङ सिस्टम, १८ लिटर अन्डर सिट स्टोरेज स्पेस, स्मार्ट स्टार्ट, स्मार्ट फाइन्ड, स्मार्ट अनलक जस्ता थुपै फिचरहरु दिएको छ ।


