काठमाडौं । होन्डाले भारतीय बजारलाई केन्द्रमा राखेर उत्पादन गरेको एलिभेट एसयूभी नेपाल आएको छ । स्याकार ट्रेडिङले नेपाल ल्याएको एलिभेट विभिन्न ४ भेरियन्टमा नेपाल आएको हो ।
‘अहिले इन्ट्री भेरियन्ट नेपाल आएको छैन । अर्को सातासम्म आउँछ होला । चार भेरियन्ट ल्याएर हामीले परीक्षण गरिरहेका छौं’, स्याकार ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।
अहिले कम्पनीले भी, भीएक्स, जेडएक्स एमटी र जेडएक्स सीभीटी नेपाल ल्याएको छ । कम्पनीको इन्ट्री भेरियन्ट एसभी भने केही दिनमा नेपाल आइपुग्ने छ ।
स्याकार ट्रेडिङले केही दिनपछि नेपाल आउने एसभी भेरियन्टको मूल्य ५६ लाख ३५ हजार तोकेको छ । त्यस्तै भी म्यानुअल भेरियन्टको मूल्य ६२ लाख ३५ हजार, भीएक्स म्यानुअल भेरियन्टको मूल्य ६६ लाख ९५ हजार, जेडएक्स एमटीको मूल्य ७३ लाख ४४ हजार र जेडएक्स सीभीटीको मूल्य ७८ लाख ७० हजार रुपैयाँ कामय गरेर बिक्री सुरु गरेको हो ।
कम्पनीले अटोमेटीक भेरियन्ट जेडएक्स सीभीटीको ड्यूल टोनको मूल्य भने ७९ लाख ४४ हजार निर्धारण गरेको छ । निकट भविष्यमा अन्य थप भेरियन्ट पनि अटोमेटीक गियरबक्सको साथ आउने कम्पनीको भनाइ छ ।
भारतमा हुन्डाई क्रेटा, किया सेल्टोस र सुजुकी ग्राण्ड भिटारा जस्ता प्रोडक्टसँग प्रतिस्पर्धा गर्न आएको एलिभेट नेपालमा पनि मूल्यका हिसावले यी मोडलसँग प्रतिस्पर्धामा खरो उत्रने देखिन्छ ।
होन्डा एलिभेटको लम्बाई ४३१२ एमएम, चौडाई १७९० एमएम, उचाई १६५० एमएमको रहेको छ । यसमा २६५० एमएमको ह्वीलबेस पाउन सकिन्छ । टप भेरियन्टमा १७ इन्चको डायमण्ड कट अलोय ह्वील रहेको एलिभेटमा ग्राउण्ड क्लियरेन्स भने सेग्मेक्ट कै सबैभन्दा धेरै २२० एमएम रहेको छ ।

होन्डा एलिभेटको एक्टेरियर होन्डाको एसिया प्यासेफिक आर एण्ड डी सेन्टर थाइल्याण्डमा विकास भएको हो । यसको फ्रन्ट लुक्स निकै बल्की देखिएको छ । यसमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट्स पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ ।
‘प्रोगेसिभ एण्ड प्रोटेक्टीभ’ कन्सेप्टमा आधारित एलिभेटको इन्टेरियरमा ठूलो साइजको हेडरुम, लेग तथा नि रुम दिइएको छ । यसको डोर र ड्यासबोर्डमा सफ्ट टच मेटेरियलको प्रयोग गरिएको छ ।
एसयूभीको अपहोलिष्टीकमा ब्राउन कलरको लेदरेट प्रयोग भएको छ । यसमा ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाइ डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ ।
सुरक्षाको लागि होन्डा सेन्सिङ एडास फिचर रहेको छ । जस अन्तर्गत फ्रन्ट कोलीजन वार्निङ, ब्रेक असिस्ट, एडप्टीभ क्रुज कन्ट्रोल, लेन डिपाचर वार्निङ, लेन किप असिस्ट जस्ता फिचर छन् ।

यसका अलावा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामरा, आइएसओ फिक्स रियर सिटको साथमा ६ वटा एयरब्याग छन् ।
होन्डा एलिभेटमा १.५ लिटर क्षमताको नेचुरल एस्पीरेटेड, फोर सिलिण्डर, आइभीटेक पेट्रोल इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर तथा १४५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
एलिभेटमा सिभीटी अटोमेटिक र ६ स्पीड म्यानुअल गियरबक्स रहने छ । होन्डाले सन् २०२६ सम्ममा एलिभेटलाई हाइब्रिड र प्योर इलेक्ट्रीक भर्सनमा समेत ल्याउने घोषणा गरिसकेको छ ।
तस्बिर सौरभ ज्योतिको फेसबुक पेजबाट

