काठमाडौं । होन्डाले अर्को महिनाबाट २०० सीसीको मोटरसाइकलको बिक्री सुरु गर्ने भएको छ । भारतीय बजारमा उत्पादन हुने २०० सीसी सेग्मेन्टको पहिलो होन्डाको मोटरसाइकल भारतमा बिक्री सुरु भएको केही समयपछि नेपाल आउने अनुमान गर्न सकिन्छ ।
अहिले होन्डाको लाइनअपमा २०० सीसी क्षमताको मोटरसाइकल थिएन । कम्पनीले नेकेड डिजाइनमा ल्याउन लागेको नयाँ मोडलको नाम भने सार्वजनिक गरेको छैन । धेरैले अनुमान गरेअनुसार नयाँ मोटरसाइकलको नाम सिबी २०० आर, एक्सब्लेड २०० वा सिबी हर्नेट २०० मध्ये एक हुने छ ।
नयाँ मोटरसाइकलले बजारमा बजाज पल्सर एनएस २०० र टीभीएस २०० फोर भीसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।
दुबै चक्कामा डिस्क ब्रेक र ड्यूल च्यानल एबीएस सहित आउने नयाँ मोटरसाइकलमा पिजीएम-एफआई इन्जिन रहने जनाइएको भएपनि यसको अन्य फिचरको बारेमा केही जानकारी दिइएको छैन ।
होन्डाका उत्पादन नेपाली बजारमा निकै सफल भएका छन् । यस्तोमा यो मोटरसाइकल धेरैले प्रतिक्षा गर्ने मोडलमा पर्न सक्छ ।

