काठमाडौं । होन्डाले भारतीय प्लान्टबाट उत्पादन गरेको ग्लोवल मोडल डब्ल्यूआर-भी नेपाली बजारमा स्याकार ट्रेडिङले बिक्री–वितरण गर्दैआइरहेको छ । यो गाडीलाई सुरुमा देख्ने जो–कोहीले एसयूभी सोच्न सक्छन् । तर, यो एसयूभी होइन, क्रसओभर कार हो ।
स्पोर्टी लाइफस्टाइल भेहिकलको रुपमा होन्डाले बनाएको यो कार सव–फोर–मिटर साइजमा बनेको छ । यो कार होन्डा ज्याजको क्रसओभर हो । जुन ज्याज ह्याचब्याकमा आधारित रहेको छ ।
एक्सटेरियर
कम्पनीले डब्ल्यूआर–भीको फ्रन्ट डिजाइन निकै आकर्षक बनाएको छ । तर, फेन्डर र डोरहरू ज्याजबाट प्रेरित रहेको छ । एलईडी डे–टाइम रनिङ्ग लाइट (डीआरएल) दिइएको छ । यसको रियरमा टेलगेट र बम्पर उपलब्ध रहेको छ ।
होन्डा डब्ल्यूआर–भीमा कोलिसन फोर्स एब्जबर्सन बढाउनका लागि कारको बीच भागमा उच्च गुणस्तरको स्टील प्रयोग गरिएको छ । त्यस्तै, फ्रन्ट सस्पेन्सनसमेत मोटो दिइएको छ भने, दुर्घटनामा कम क्षति होस् भनेर पछाडि नयाँ बम्पर दिइएको छ ।
यसको ग्राउन्ड क्लियरेन्स १८८ एमएम रहेको छ । यो क्रसओभर कारमा १६ इन्चको डाइमन्ड कट अलोय ह्वील दिइएको छ ।
इन्टेरियर
डब्ल्यूआर–भीमा ठूलो केविन दिइएको छ भने एम्पल लेग, हेडरुमजस्ता फिचर उपलब्ध छ । जसका कारण केविन आरामदायी रहेको देखिन्छ । लेदर सिटको प्रयोग गरिएको कारमा रियरमा समेत एसी भेन्टहरू उपलब्ध रहेको छ ।
यसको टप भेरियन्टमा सनरुफ, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, नेभिगेसन, वाईफाई सपोर्टर, १.५ जीबी इन्टर्नल मेमोरी दिइएको छ । यसकासाथै, ब्लू–टुथ, दुईवटा यूएसबी स्लट, स्मार्टफोन कनेक्टिभीटीका लागि मिरर लिङ्कजस्ता विशेषता रहेको छ ।
अन्य फिचरहरूमा रिभर्स क्यामेरा, मल्टी भ्यू–लेआउट, स्टार्ट–स्टप बटन, स्मार्ट कि इन्ट्री, क्रूज कन्ट्रोललगायतका फिचर दिइएको छ । केही फिचर पेट्रोल भेरियन्टमा भने उपलब्ध छैन । सुरक्षाका लागि यसमा एबीएस, ईबीडी, ड्यूल एयरब्यागजस्ता सेफ्टी फिचरहरू रहेको छ ।
इन्जिन
होन्डा डब्ल्यूआर–भी नेपाली बजारमा पेट्रोल र डिजेल दुवै भेरियन्टमा उपलब्ध रहेको छ । यसमा दिइएको १.५ लिटर डिजेल इन्जिनले ९९ बीएचपी पावर र २०० एनएम–टर्क उत्पादन गर्छ । यसमा सिक्स–स्पीड म्यानूअल ट्रान्समिसन लगाइएको छ । यो कारले प्रतिलिटर २५.५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
साथै, यसमा १.२ लिटर पेट्रोल इन्जिन दिइएको छ । जसले ८८.८ बीएचपी पावर र २०० एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल ट्रान्समिसन जडान गरिएको छ । यसको फ्यूल इफिसेन्सी १७.५ किलोमिटर प्रतिलिटर रहेको कम्पनीले दाबी गरेको छ ।
मूल्य
डब्ल्यूआर–भीको दुईवटा पेट्रोल भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको छ । जसमध्ये एसएमटी भेरियन्टको मूल्य ४३ लाख २५ हजार रुपैयाँ रहेको छ भने भीएक्सएमटी भेरियन्टको मूल्य ४८ लाख २५ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी, डिजेल भेरियन्टमा एसएमटी मोडलको मूल्य ४६ लाख रुपैयाँ रहेको छ भने भीएक्सएमटीको मूल्य ५० लाख ७५ हजार रुपैयाँ रहेको छ ।
निष्कर्ष
होन्डाको क्रसओभर कार उत्कृष्ट रहेको छ । यो सेग्मेन्टमा हुन्डाईको एक्टीभ आई २० सँग यसको सिधा प्रतिस्पर्धा भइरहेको छ । तर, आई २० यो सेग्मेन्टमा निकै चर्चित रहेको पाईन्छ । मूल्यको हिसावले हेर्दा आई २० को तुलनामा यो कार केही महंगो रहेको छ ।
होन्डा ब्रान्ड, कम मूल्य र आर्कषक डिजाइन यो क्रसओभर कारको सबल पक्ष हो । यसले नेपाली बजारमा कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी नै रहेको छ ।

