काठमाडौं । फेब्रुअरी अन्तिम सातासम्ममा बिक्री सुरु हुने भनिएको हुन्डाई क्रेटा ईभी अर्को साताबाट बिक्री सुरु हुने भएको छ । कम्पनीले मार्च १०/१२ तारिखको छेउछाउमा क्रेटा ईभी बिक्री सुरु गर्न लागेको हो ।
‘फेब्रुअरी अन्तिममा नै बिक्री थाल्ने योजना थियो । केही तयार पुरा नहुँदा दुई साता पछाडि धकेलेर बिक्री सुरु गर्न लागिएको हो’, हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले भयो ।
भारतमा जनवरी १७ तारिखमा सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी नेपालमा पनि सबैभन्दा बढी प्रतिक्षा गरिएको मोडल मध्ये एक हो । नेपालमा पेट्रोलबाट चल्ने क्रेटा निकै सफल मोडल मानिन्छ । त्यसैले पनि इलेक्ट्रीक क्रेटा बहु प्रतिक्षित मोडलमा पर्छ ।
बजारमा अहिले १० हजारभन्दा बढी युनिट क्रेटा उपलब्ध छ । त्यसैले त क्रेटा ईभीलाई बहुप्रतिक्षित बनाएको हो ।
यस्तो छ क्रेटा ईभी
क्रेटा ईभी आफ्नो युनिक फ्रन्ट र बडी डिजाइनको कारण चर्चामा छ । ईभीमा आउँदा थपिएको कलर अप्सन, क्लोज अफ ग्रिल, एक्टीभ एयर फ्ल्याप जस्ता फिचरले यसको फ्रन्टलाई आकर्षक देखाएको छ ।
नयाँ कोना इलेक्ट्रीकबाट प्रेरित थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा रहेको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिइएको ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायर जस्ता फिचरले क्रेटा ईभीलाई सहज र प्रयोगमैत्री बनाएको छ ।

यसमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर छन् ।
हुन्डाईले क्रेटा ईभी ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर अप्सनमा उपलब्ध गराउने छ । सानो ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री दिइएको छ । जसले सिंगल चार्जमा ३९० किलोमिटर रेन्ज दिने भनिए पनि ३०० प्लस किलोमिटर आउने अनुमान गर्न सकिन्छ ।
ठूलो ब्याट्रीको साइज ५१.४ किलोवाट आवर हो । यो ब्याट्रीसँग १२६ किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा ४७३ किलोमिटर रेन्ज दिने एआरएआई टेस्टले देखाए पनि सडकमा ४०० किलोमिटर आसपास रेन्ज आउने अपेक्षा गर्न सकिन्छ ।
कति पर्ला मूल्य ?
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अहिलेसम्म यसको मूल्यको विषयमा कुनै जानकारी दिएको छैन । सानो ४२ किलोवाट आवर क्षमताको ब्याट्री भएको मोडलको मूल्य ५० लाखदेखि ६० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।
ठूलो मोटर र ब्याट्री साइज भएको क्रेटा ईभीको मूल्य ६० लाखदेखि ७० लाख रुपैयाँ भित्र पर्ने अनुमान गरिएको छ ।


