काठमाडौं । हुन्डाई मोटर्सले सन् २०१५ मा पहिलो पटक बजारमा ल्याएको कम्प्याक्ट एसयूभी क्रेटा निरन्तर सेग्मेन्ट लिडर बनिरहेको छ । सन् २०१९ पछि क्रेटासँग प्रतिस्पर्धा गर्न किक्स, सेल्टोस जस्ता मोडल आए ।
त्यसैगरी सन् २०२१ बाट यही सेग्मेन्टमा स्कोडा कुशक र फक्सवागन टाइगुन आए । सन् २०२२ मा टोयोटा अर्वान क्रुजर हाइराइडर र सुजुकी ग्राण्ड भिटारा जस्ता मोडल आएपनि क्रेटाको क्रेज निरन्तर कायम रहेको छ ।
हुन्डाई मोटर इन्डियाले सन् २०२२ मा पनि सबैभन्दा बढी विक्री हुने मिडसाइज एसयूभी क्रेटा बनाउन सफल भएको छ । पाँच सिट क्षमता भएको क्रेटा स्पेस र प्रिमियम लुक्सको कारण निकै लोकप्रिय मोडल बनेको हो ।
सन् २०२० मा सेकेन्ड जेनेरेशनको रुपमा इन्टेरियर र एक्स्टेरियरमा ब्यापक परिमार्जन गरी विक्री सुर भएको क्रेटा त्यसयता निरन्तर सफलताको नयाँ कथा लेख्न सफल हुँदै आएको छ । कम्पनीले सन् २०२२ मा मात्रै १ लाख ४० हजार ८९५ यूनिट क्रेटा विक्री गरेको हो ।
मिडसाइज एसयूभीको ट्रेन्ड सेटर मोडलको रुपमा लिइने हुन्डाई क्रेटामा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल तथा १.४ लिटर टर्बो पेट्रोल गरी ३ इन्जिन अप्सन पाउन सकिन्छ । तर, हुन्डाईको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा मात्रै उपलब्ध गराएको छ । भारतमा जस्तै नेपालमा पनि क्रेटा सेग्मेन्टको सर्वाधिक सफल मोडल हो ।
यसमा रहेको पेट्रोल डिजेल इन्जिनले समान ११५ पीएस पावर प्रदान गर्छ । साथै, सिक्स स्पीड म्यानुअल, सिक्स स्पीड आइएमटी, सेभेन स्पीड डुअल क्लच अटोमेटीक गियरबक्स मध्ये ग्राहकले एउटा आफुलाएै सहज लाग्ने छनोट गर्न पाउने छन् ।
ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, माउन्टेड कन्ट्रोलसहितको स्टीयरिङ ह्वील, ६ वटा एयरब्याग लगायतका फिचर पाउन सकिन्छ ।
सुरुमा सप्लाई समस्या र पछि आयात प्रतिबन्धको कारण हुन्डाई क्रेटाको सप्लाई हुन सकेन । हाम्रो बजारमा विगत ५ महिनादेखि क्रेटाको उपलब्धता छैन ।

